काठमाण्डौँ ।
आज कार्तिक कृष्ण औँशी तिथि , यमपञ्चक अर्थात् तिहारको चौथो दिन । गाई, र गोरुको पूजा गरी मनाइँदै छ । द्वापरयुगमा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण गरेको सम्झनास्वरूप यो पर्व मनाइन्छ। भगवान् कृष्णले कृषि जनजीवनका लागि गोवर्धन पर्वतको ठूलो महत्त्व रहेको बताएपछि गोवर्धन पर्वतको पूजा गर्ने परम्परा चलेको पुराणहरूमा उल्लेख छ।
धार्मिक ग्रन्थअनुसार गोबर्धन पूजाको दिन बलिराजाको पूजा गरिन्छ। यो दिन राम्रो लगाउने, नाचगान गर्ने, मिठो खाएर रमाइलो गर्नुपर्ने शास्त्रमा उल्लेख छ। उत्सव मनाउने, नाचगान गर्ने जस्ता पुराणका निर्देशअनुसार नेपाली समाजमा देउसी खेल्ने परम्परा छ। तर कोरोनाको कारण यस बर्ष कहिाँ कतै देउसी भैलीको रोनकता छैन ।
आज नै गाई, गोरुको पूजा पनि गरिँदैछ। गाई, गोरुको पूजा गरी अनुकुलको पदार्थ खुवाउने र खुल्ला छोडिदिने चलन छ।स्थानीय गाईको दूध बालकदेखि वृद्धसम्मका लागि उपयोगी मानिन्छ। दूधबाट बन्ने दही र घ्यु पनि पोषिला हुन्छन्। गोबर र गहुँतमा असाध्य रोग निको हुने औषधीय गुण हुने बताइन्छ।
गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।
गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।
यस्तै आजको दिन यि हलगोरु अनि हलोको पूजा गर्ने दिन हो । हलोको तलपट्टि जमिनलाई खोस्रिन धातूबाट बनेको चुच्चोलाई फाली भनिन्छ भने हलो र गोरुको काँधलाई जोड्ने काठलाई जुवा भनिन्छ । आजको दिन कृषि कार्यका यी सम्पूर्ण उपकरणहरु लगायत गोठ, पराल अथवा खानेकुरा दिइने नादी, कुटी काट्ने कचिया (गँणासी) इत्यादीको पूजा गरिन्छ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ ।
प्राचिन नेपाली समाजको स्मरण गर्ने हो भने गोरुगाडा लगायतका जनावरले तान्ने गाडाहरु नै एक ठाउँबाट अर्को ठाउँ पुग्ने यातायातको प्रमुख माध्यम अनि कृषि कार्यका प्रमुख आधारहरु थिए। यीनै गोरुहरु अनि बहरकालागि आजको दिन पिठो, नुन, चोक्कर र पानी मिश्रीत घोलका साथै चामलको पिठो र तिउन हालेर बनेको गिलोरोटी अर्थात बावर खान दिइन्छ । यस्तै आजै म्ह पुजा पनि परेको छ । नेवार समुदायले धुमधामसंग म्ह पुजा गरी आजको दिनलाई उत्सवमय बनाउँछन् ।
प्रतिक्रिया