मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाकी सोना पौडेललाई फेरि सहयोग आएको छ । श्वासप्रश्वास सम्बन्धी समस्या भएर काठमाण्डौँको टिचिङ अस्पतालमा घाँटीको अप्रेसन गराइरहेकी पौडेललाई स्थानीय नवप्रभात युवा क्लवको सक्रियतामा ५५ हजार २ सय ४९ रुपैयाँ सहयोग शनिबार आएको हो ।
ठाकुरापुर घर भई हाल विदेश रहेका युवाहरुले संकलन गरेको रकम ठाकुरापुर टोल विकास समितिका अध्यक्ष हरि प्रसाद पौडेल, कुलापानी समितिका शोभाखर पौडेल, क्लवका अध्यक्ष मिलन चालिसे र पदाधिकारीहरु सोनाको घरमै पुगेर सहयोग हस्तान्तरण गरिएको अध्यक्ष चालिसेले बताउनुभयो ।
काम र अध्ययनको शिलशिलामा अष्ट्रेलियामा रहेका सन्तोष पौडेलले १२ हजार ५ सय, संयुक्त अरब इमिरेट्स (युएई) का जीवन रेग्मीले २० हजार, स्पेनबाट मनोज प्युठानीले दश हजार सहयोग गर्नु भएको थियो भने अन्य रकम उहाँहरुका साथीहरुले गर्नु भएको चालिसेले बताउनु भयो ।
रकम ग्रहण गर्दै सोनाकी आमा गीता न्यौपानेले सहयोगीहरुलाई धन्यबाद दिनुभयो । छोरीको उपचारमा लाखौँ रकम लाग्ने भएकाले उपचारमा थप रकम आवश्यक भएको पनि आमा न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार छोरीको अप्रेसन जटिल छ । पटकपटक अप्रेसन गर्दा लाखौँ रकम खर्च भइसकेको र अझै लाखौँ खर्च हुने अवस्था रहेको भन्दै सहयोगको लागि अपिल गर्नु भएको हो ।
सोनामा घाँटीमा समस्या भएको ९ बर्ष भइसकेको छ । सोनाको परिवारको आर्थिक अवस्था नाजुक र दयनीय भएपछि सहयोगको लागि भन्दै मायादेवी अनलाइन तथा रेडियोले पहिलोपटक खबर प्रकाशन गरेको थियो । त्यसपछि सोनालाई बिभिन्न ब्यक्ति तथा संघ संस्थाले सहयोग गरिरहेका छन् । रेडियो मायादेवीले पनि बिभिन्न स्थानबाट रकम संकलन भएको रकम यसअघि घरमै पुगेर हस्तान्तरण गरिसकेको छ ।
प्रतिक्रिया