काठमाण्डौँ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् स्थायी कमिटी सदस्य शंकर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेको बताएका छन्।
शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै पोखरेलले प्रचण्डको एकल प्रस्तावले पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको लेखेका छन्।
उनले प्रचण्डलाई एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन अनुरोध गरेका छन्।
’म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन हार्दिक अनुरोध गर्दछु’, पोस्टमा पोखरेलले लेखेका छन्।
शुक्रबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले बहुमतको निर्णय नमानेको आरोप लगाएका छन्।
पार्टी सचिवालय बैठकमा प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री ओलीको सोच कम्युनिस्ट पार्टीको सिद्धान्त र मान्यता विपरित रहेको समेत उल्लेख गरेका थिए।
यस्तै प्रम तथा पार्टी अध्यक्ष ओलीले अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई लेखेको पत्रमा उनको कार्यकारी भूमिकामाथि प्रश्न उठाएका छन्। प्रधानमन्त्री ओलीले प्रचण्डलाई लेखेको पत्रमा आफ्नो भागमा परेको कामका सन्दर्भमा के गर्नुभयो भनेर समेत सोधेका थिए।
प्रतिक्रिया