काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा को सचिवालय बैठक शुक्रबार बस्दैछ । महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शमा शुक्रबार ४ बजेलाई बालुवाटारमा बैठक बोलाएका हुन् ।
लामो रस्साकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बोलाउन राजी भएका हुन् । यसैबीच नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहितका सचिवालयका बहुमत सदस्यले आजको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीविरुद्ध एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएका छन् ।
बिहीबार प्रचण्ड निवास खुमलटारमा भएको बहुमत सचिवालय सदस्यबीचको छलफलले सचिवालय बैठकमा एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएको छलफलमा सहभागी एक नेताले बताए । बैठकलाई लिएर खुमलटारमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो ।
यस्तै प्रधानमन्त्री ओली समूहले पनि बैठकमा प्रस्तुत हुन आफ्नो रणनीति तय गरेको बुझिएको छ । पार्टीभित्र विवाद चुलिएको बेला भएको आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।
प्रतिक्रिया