१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तुको बिजयनगरमा भैसी श्रोत केन्द्र संचालन गरिने



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको बिजयनगर गाउँपालिकामा लुम्बिनी प्रदेश सरकारको सहयोगमा भैसीको श्रोत केन्द्र संचालनको तयारी गरिएको छ । त्यसका लागि गाउँपालिकाले सय बिघा क्षेत्रफल समेत छुट्टाएको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताउनुभयो । कपिलवस्तुको तौलिहवास्थित भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

यस्तै कपिलवस्तुलाई आप लिची लगायतको फलफूलको हवका रुपमा बिकास गरिने उहाँले बताउनुभयो । यस्तै किसानहरुका लागि रोड कोरिडोर, आलु प्याज, लसुन, बाख्रा मिसन कार्यक्रम समेत संचालन गरिनेछन ।

भूमिहिन हलीया कमैया किसानहरुलाई लक्षित गरी प्रदेश सरकारले १ सय ९ वटा पालिकामा करार खेती संचालन गरिने मन्त्री पौडेलले बताउनुभयो । बास्तविक किसानलाई सहुलियत दरमा कर्जा दिईने उहाँले बताउनुभयो । उत्पादनलाई प्रोत्साहन गर्न खसी बोकामा प्रति किलो २५ दिइने छ ।

यस्तै युवाहरुलाई लक्षित गरी कमाउदै पढ्दै कार्यक्रम समेत संचालन हुनेछ । कृषि वनलाई उपभोग गर्न फर्निचर घाँस लगायतमा सामुदायिक वनका बिपन्न किसानलाई समेत अनुदान दिईने छ ।

मन्त्री पौडेलले सिमा लक्षित कार्यक्रममा समेत प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

यस्तै कृषिको सहजीकरणका लागि प्रदेशमा रहेका ९ सय ८३ वटै पालिकामा हरित स्वयमसेवक समेत नियुक्त गरिएको छ । कृषि तालिमलाई समेत ब्यवस्थित गरिएको उहाँले बताउनुभयो । मन्त्री पौडेलले कपिलवस्तुमा माहुरीपालनका बिषयमा किसानहरुसंग छलफल समेत गर्नुभएको थियो ।

प्रदेश कृषिमन्त्री पौडेलले बाणगंगाको भलवाडमा सञ्चालित स्मार्ट कृषि कार्यक्रम, तौलिहवाका माहुरी पालक किसानको माहुरी चरणका कार्यक्रम, कृषि ज्ञान केन्द्र तौलिहवामा कृषि प्राबिधिकसँग छलफल, सञ्चारकर्मी अन्तरक्रिया गरेसंगै महाराजगंज र बाणगंगामा सञ्चालित पशु र कृषि कार्यक्रमको स्थलगत अवलोकन गर्नुभएको थियो ।

प्रदेश सदस्य अर्जुन केसीले प्रदेश सरकारले कृषिको विकासका लागि धेरै कार्यक्रम ल्याएकाले कृषि सम्बन्धी कार्यक्रम वास्तविक किसानले पाउनुपर्नेमामा जोड दिनुभयो । भेटनरी अस्पतालका प्रमुख दिपक भुसालले कपिलवस्तुमा कृषि र पशु तर्फ यस बर्ष बिभिन्न कार्यक्रम रहेकाले यसको सही सदुपायोगका लागि सबैको पहल आवश्यक रहेको बताउनुभयो ।

प्रकाशित मिति : २८ कार्तिक २०७७ शुक्रबार ००:००  ७ : ५७ बजे