मायादेवी अनलाइन, तौलिहवा ।
लुम्बिनी प्रदेशकी भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले अबको १० दिन पछि किसानले सरकारले तोके अनुसार धानको समर्थन मुल्य पाउने दाबी गर्नुभएको छ ।
कपिलवस्तुको तौलिहवास्थित भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले सरकारले मंसिर ७ गते देखि खाद्य ब्यापार केन्द्र मार्फत धान खरिद गर्न लागेकोले १० दिन अझै धान नबेच्न उहाँले आग्रह गर्नुभयो ।
सरकारले बाली लगाउने बेला मै मोेटो धानको प्रति क्युन्टल २७ सय ३५ र मसिनोको २८ सय ८५ रुपैयाँ तोकेको छ । तर, बजारमा अहिले मोटा धानको १८ सय र मसिनोको २ हजार भन्दा कम मूल्यमा धान बेच्न बाध्य रहेको किसानहरुले गुनासो गरेका छन ।
मन्त्री पौडेलले प्रदेशमा ४० वटा सहकारीले समर्थन मूल्य अनुसार धान किनेको दाबी गर्नुभयो । सहकारीले किसानहरुसंग समर्थन मूल्य अनुसार धान किनेमा सरकारले प्रति क्युन्टल १ सय १२ रुपैयाँ अनुदान समेत दिने उहाले बताउनुभयो ।
‘धानको समर्थन मूल्य अहिले किसानहरुले नपाएको गुनासो छ, मंसिर ७ पछि उनीहरुले धानको समर्थन मूल्य पाउँछन ।’ उहाले भन्नुभयो
किसानले धानको समर्थन मुल्य जसरी पनि पाउनु पर्ने उहाँले बताउनुभयो । गहुँ खेतीको लागि हतारिएका किसानहरु अहिले उत्पादन गरेका धान प्रति क्युन्टल १८ सयको दरले बेच्न बाध्य छन ।
प्रतिक्रिया