१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

शितगंगाका पहिरो पीडितको विचल्लीः मोहडाको चौरमा पाल टागेर बसेका पीडितलाई पुनः लखेटियो



मायादेवी अनलाइन, चार नम्बर ।
अर्घाखाँची शितगंगा १२ का पहिरो पीडितको लागि खुला आकाश पनि विरानो हुन थालेको छ । नेपालीहरुका महान चाडले देश नै उमंगमा छाइरहदा कोठिया–मैदान–जोख्ले गैराका पहिरो पीडितलाई खुला आकाश पनि सरकारको हुँदा निरासा छाएको छ ।

असोजको पहिलो हप्ता अविरल बर्षासंगै आएको भुकम्पको कम्पन्नसहितको पहिरोले शितगंगा १२ का झण्डै ६५ घर विस्थापित गराएको थियो । ती विस्थापितलाई अहिलेसम्म बासको ग्यारेन्टी गर्न सकिएको छैन् । पुरै घरसम्पत्ति पहिरोले लगेर घरबासविहिन बनेका यी पीडित अहिले खुला आकाश खोज्दै हिडेका छन । तर, खुला आकाश पनि विरानो बनेको छ । पीडितहरुले झेलेका पछिल्ला घटनाले यस्तो देखाउँछ ।

अर्घाखाँची–कपिलवस्तु सीमानामा पर्ने कोन्द्रे खोलाको मोहडा भन्ने स्थानमा पहिरो पीडित बसेका थिए । यो स्थान बर्षौ पहिले अर्घाखाँचीबासीका खेतीयोग्य जमीन थिए । अहिले यो स्थानमा मानववस्ति छैन् । खुल्ला चौरमा परिणत छ । यही भूमिमा पीडितहरु दशैं लगत्तै अधेरी रात कटाउन आएका थिए । तर, बन कार्यालय कपिलवस्तुले जंगलमा बस्न नपाइने भन्दै अधेरी रातपनि कटाउन नदिई धपाइरहेको छ ।

पहिलो पटक सव डिभिजन बन कार्यालय गोरुसिंगेको टोलीले महोडामा बसेका पीडितलाई जहाँबाट आएको हो त्यही जान आग्रह गरेको थिए । यो भूमि बन क्षेत्र भएकाले यहाँबाट तत्काल जान कार्यालयको आग्रह थियो । दलबल सहित त्यहाँ पुगेका कर्मचारीको डरले पीडितहरु हटेका थिए ।


यद्यपि धेरै घर परिवार भएको कारण अन्त बस्ने ठाउँ कतै नपाएपछि पुनः दोस्रो पटक बास बस्न पीडितहरु यहाँ आएका थिए । यहाँ बसेको पुनः सुइको पाए लगत्तै डिभिजन बन कार्यालय तौलिहवाका प्रमुख ईश्वरी प्रसाद पौडेलको नेतृत्वमा कर्मचारी टोली मोहडा पुगेको थियो । तत्काल पाल मुनि बसेका पीडितलाई त्यहाँबाट धपाएका थिए । अब आइन्दा पनि यहाँ बसे जेल कोच्ने धम्की दिएका बन कर्मचारीले पीडितका पालहरु उखेर फालेको पीडित गुनासो पोख्छन् ।

यहाँबाट धपाई लगत्तै पीडितहरु अर्घाखाँचीका जनप्रतिनिधि गुहार्न पुगेका थिए । उनीहरुलाई अन्त बसाल्ने ठाउँ नभएको भन्दै तत्काल मोहडा नै गएर बस्न भनेका थिए । आफुहरुले केन्द्र सरकारसंग यस विषयमा कुराकानी गरिरहेको भन्दै खुला चौरमा बस्दैमा केही हुन्न भन्दै उनीहरुलाई यहाँ पठाएका थिए । एक रात काट्न नपाउँदै विहीबार सव डिभिजन बन कार्यालय तौलिहवासहित सुरक्षाकर्मीको टोली मोहडा पुगेर पीडित परिवारलाई धपाएका छन् ।

धपाउँदा पनि नमाने तीन बर्ष कैद सजाय दिने गरी समातेर जेल ल्याउने गरी त्यहाँ पुगेको उक्त टोलीको डरले पीडित उठेर हिडेका थिए ।

डिभिजन बन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरी प्रसाद पौडेलले पीडित बसेको ठाउँ जंगलको जग्गा पर्ने भन्दै तत्काल उक्त भूमि छाड्नुको विकल्प नभएको मायादेवी अनलाइनसंग प्रतिक्रिया दिनुभयो ।

जंगलको जग्गामा कुनै पनि किसिमका पीडित बस्न नपाउँने भन्दै आफुहरुले त्यहाँबाट पीडितलाई हटाएको पौडेलले बताउनुभयो । दुई पटक सम्झाई बुझाई गरेर नबस्न भने पनि पुनः तेस्रो पटक आएर बसोबास गरेको भन्दै अब जो जो बसेका छ ती व्यक्तिलाई समातेर जेल हाल्नुको विकल्प आफुहरुसंग नभएको उहाँले चेतावनी दिनुभयो ।

शितगंगा नगरपालिकाको विपद व्यवस्थापन समितिले भने पीडित घरपरिवारलाई तत्काल अन्यत्र जग्गा नपाउँदासम्म त्यही बसाल्ने गरी निर्णय गरेको छ । नगर प्रमुख सूर्य प्रसाद अधिकारीले दर्जनौं घरपरिवारलाई बसाल्न नगरभित्र जग्गा नहुँदा विपद समितिले मोहडा क्षेत्रमा बसाल्ने गरी निर्णय गरेको मायादेवीलाई बताउँनुभयो । यी नागरिक शितगंगाका मात्र नभएर देशका भएकाले राज्य यो विषयमा संवेदनशील बन्नुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकारलाई जग्गा उपलब्ध गराउने अधिकार छैन्, केन्द्र सरकारले यो विषयलाई तत्काल सम्बोधन गर्नुपर्छ उहाँले भन्नुभयो ।

डिभिजन वन कार्यालयका प्रमुख पौडेलले स्थानीय सरकारलाई जंगलको जग्गामा गएर बसाल्ने अधिकार नभएको बताउनुभयो । जवरजस्ती बसाल्ने खोज्ने जनप्रतिनिधिलाई पनि बन मुद्धा लगाउने उहाँले चेतावनी दिनुभयो ।

प्रकाशित मिति : २८ कार्तिक २०७७ शुक्रबार ००:००  ७ : ४३ बजे