१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बाल सहभागीता सम्बन्धि कार्यबिधि हस्तान्तरण



मायादेवी अनलाइन, बुटवल ।
लुम्बिनी प्रदेश बाल सहभागीता सम्बन्धि कार्यबिधि २०७७ को अन्तिम मस्यौदा सामाजिक विकास मन्त्रालयलाई औपचारिक रुपमा आज हस्तान्तरण गरिएको छ ।

लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको नेतृत्व तथा बाल सहभागीतामा कार्यरत संस्थाहरुको साझा समुह (कन्सोर्टियम नेपाल) र सिविन नेपालको प्राविधिक सहयोगमा निमार्ण भएको मस्यौदा सामाजिक विकास मन्त्री सुदर्शन बराललाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री बरालले बाल सहभागीता सम्बन्धि कार्यबिधिको मस्यौदालाई मन्त्रालयका सम्बन्धित व्यक्तिहरुसँगको सल्लाहमा छिटै नै अन्तिम रुप प्रदान गर्न सकारात्मक रहेको जानकारी गराउनु भयो ।

बालबालिकाको सहभागीताले नै बाल बालिकाको क्षमता अभिबृद्धि हुने, उनीहरुको अवस्थाको मुल्यांकन हुने र प्रदेशमा बाल सहभागीताको अधिकारलाई स्थापित गर्ने कुरामा कुनै पनि कसर बाँकी नराख्ने कुरामा पनि जोड दिनु भयो ।

सोही कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा सिविन नेपालका कार्यक्रम निर्देशक कुमार भट्टराईले प्रस्तुत बाल सहभागीता सम्बन्धि कार्यबिधिले बिगतमा प्रदेशमा भएका बाल सहभागिताका राम्रा अभ्यासहरुलाई निरन्तरता दिने र परिवर्तित सन्दर्भमा बाल सहभागिता प्रबद्र्धन गर्न प्रदेश सरकारको दायित्व रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश अन्तर्गत सामाजिक विकास मन्त्रालयको महाशाखाका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, प्रदेश स्तरिय बाल क्लब संजालका प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण कन्सोर्टियम नेपालको अध्यक्ष किरण थापाले गर्नु भएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७७ बिहिबार ००:००  ८ : २३ बजे