दाङ ।
राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान–रुकुम खण्ड जीर्ण बन्दै गएको छ । लोकमार्गमा गरिएको वटासिल उप्किएपछि केही समयअघि टालटुल गरिएको थियो तर टालटुल गरिएको वटासिल उप्किएपछि पुनः उस्तै समस्या देखिएको छ ।
राप्ती लोकमार्गका विभिन्न स्थानमा अहिले कतै सडक खाल्डाखुल्डी छ त कतै कालोपत्र उप्किएर धुलाम्य भएको छ । यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । अधिकांश स्थानमा ठेकेदारले गुणस्तरीय काम नगर्दा छोटो समयमै कालोपत्र उप्किएको स्थानीयवासीको भनाइ छ । वटासिल उप्किएपछि सडक धुलाम्य बन्दै गएको छ ।
दाङ-सल्यान-रुकुम खण्ड जीर्ण बन्दा स्थानीयवासीलाई सास्ती भएको स्थानीय लालबहादुर खत्रीले बताए । उनका अनुसार दाङ–सल्यान खण्डको राम्रीबाट शीतलपाटी र शीतलपाटीबाट खौलासम्म सबैभन्दा बढी खाल्डाखुल्डी छन् । “सडकको अवस्था दयनीय हुँदा पनि सम्बन्धित निकाय मौन छ”, उनले भने, “सडक पूर्णरूपमा कालोपत्र भए तुलसीपुरबाट सल्यान खलङ्गा आउन बढीमा डेढ घण्टा लाग्छ, तर जीर्ण सडकका कारण गाडीले चार घण्टाभन्दा बढी समय लगाउने गरेका छन् ।”
गाडी चालकसमेत रहनुभएका खत्रीका अनुसार सडक जीर्ण बनेपछि यात्रा गर्दा गाडीले उछार्ने-पछार्ने गर्दछ, यात्रु गन्तव्यमा नपुग्दै बिरामी हुने अवस्था छ, यात्रा गर्न जोखिम पनि उत्तिकै छ । बर्सातमा हिलो र हिउँदमा धुलोका कारण नागरिकले सास्ती पाउँदा पनि सम्बन्धित निकाय मौन रहेको उनको गुनासो छ ।
प्रतिक्रिया