१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

विहार निर्वाचनः २९ स्थानमा उम्मेद्‌वारी दिएर कम्युनिष्टद्धारा १६ सिट कब्जा



काठमाडौं ।
भारतको विहारमा सम्पन्न विधानसभा निर्वाचनमा यसपटक उल्लेख्य सिटमा वामपन्थी उम्मेदवारहरु निर्वाचित भएका छन् । वामपन्थी पार्टीहरुले उम्मेद्वार उठाएका अधिकांश स्थानमा जित हासिल गरेका छन् । तेजस्वी यादवको महागठबन्धनमा सामेल तीनवटा वामपन्थी पार्टीहरूले कुल २९ वटा सिटमा उम्मेद्वार उठाएका थिए । जसमा १६ वटा सिटमा जित हासिल गरेका छन् ।

सन् १९९५ को विहार विधानसभामा नीतिशकुमारले लालू यादवसँग अलग भएर समता पार्टी गठन गरेका थिए । नीतिशकुमारले उक्त समयमा सीपीआई एमएलसँग आफ्नो राजनीतिक जीवनको पहिलो गठबन्धन बनाएका थिए । त्यतिबेला ३१० सिटमा उठेको समता पार्टीले जम्मा ७ सिट जित्यो भने बचेखुचेका स्थानमा उम्मेद्वारी दिएको सीपीआई एमएलले ६ सिट जित्यो ।

त्यसको २५ वर्षपछि यतिबेला सीपीआई (एमएल) नीतिशकुमार विरुद्धको गठबन्धनमा सामेल भएको छ । देशकै ठूलामध्येको पार्टी कंग्रेस आई २० सिटमा समेटिएको विहारको विधानसभा निर्वाचन २०२० मा वामपन्थी पार्टीहरूले १६ सिटमा जित हात पारेका छन् । सीपीआई (एमएल) ले यतिबेला १९ स्थानमा उम्मेद्वारी दर्ता गराएकोमा १२ सिट जितेको छ । यससँगै सीपीआई र सीपीएमले पनि दुई–दुईवटा सिटमा जित हासिल गरेका छन् ।

यसलाई बीबीसी हिन्दीले वामपन्थी पार्टीको पुनरोदय भनेको छ । भारतको बंगाल र केरल राज्यपछि बिहार वामपन्थी विधायकको संख्या धेरै भएको तेस्रो राज्य भएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७ बुधबार ००:००  १० : ३८ बजे