१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

तालिम निष्प्रभावी हुने भयले वडा नम्बर ७ बाँड्यो सिलाई मेसिन, दिदीबहिनी परे दङ्ग !



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ ले महिला लक्षित कार्यक्रम अन्तर्गत सिलाई मेसिन वितरण गरेको छ । विगतका बर्षमा बिभिन्न तालिमहरु प्रदान गरिँदै आए पनि त्यति प्रभावकारी नभएको पाइएपछि यस वर्ष सिलाई मेसिन नै वितरण गरिएको हो । आर्थिक बर्ष २०७७ । ७८ मा आवश्यक बजेट विनियोजन गरी लेभल एक र दुई तालिम प्राप्त गरि ब्यवसाय गरी बसेका दिदीबहिनीहरुकोे तथ्याङ्क संकलन गरी सकेपछि बुधबार २७ जनालाई प्रोत्साहनस्वरुप सिलाई मेसिन वितरण गरिएको वडा अध्यक्ष विष्णु गिरीले बताउनु भयो ।

नाम छुटेकाहरुलाई पछि दोश्रो चरणमा पुनः मेसिन बाँडिने उहाँको भनाई छ । मेसिन प्राप्त गर्न सफल सबै २७ महिलाले एक चरणको सिलाई तालिम लिइसकेका र व्यवसायमा संलग्न भइसकेको हुनाले कार्यक्रमले नतिजा राम्रै दिनेमा वडाध्यक्ष गिरीले विश्वास व्यक्त गर्नुभयो । यस बर्ष पनि विगतका बर्षमा जस्तै लक्षित वर्गका कार्यक्रम समयमै सम्पन्न गर्ने उद्धेश्यले कामहरु धमाधम भइरहेको जानकारी दिनुभयो । राष्ट्रिय सभा सदस्य विमला घिमिरे, संविधान सभा सदस्य बलराम अधिकारी, वडा सदस्य, टोल विकास समितिका अध्यक्ष, संचारकर्मी लगायतको सहभागितामा वडा कार्यलयमा ती मेसिन बाँडिएको थियो ।

यसैबीच वडा कार्यालयले गरेको कामको सबैले प्रसंसा गरेका छन् । कार्यक्रममम बोल्दै प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य घिमिरेले प्राप्त भएका मेसिनलाई आयआर्जनको श्रोत बनाउन दिदीबहिनीहरुलाई आग्रह गर्नु भएको छ । वडाले गरेका हरेक काम निकै प्रभावकारी भएको आफूले देखिरहेको हुँदा मेसिन वितरण कार्यक्रमले पनि महिलालाई आत्म निर्भर बन्न सहयोग पुग्ने विश्वास ब्यक्त गर्नु भयो ।

संविधानले महिलाको लागि हरेक अधिकार दिएको भन्दै अब महिलाहरु घरमा सिमित हुन नहुने उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘महिला स्वयम पछि परेका होइनन् । समाजमा भएका कुप्रथा, परम्परा र पुरुषप्रधान सोँचले महिलालाई पारिएको छ । अब त्यसलाई चिर्न घरघरबाट महिला जुट्नु पर्दछ । राजनीतिदेखि हरेक क्षेत्रको नेतृत्वमा महिला पुग्नु पर्दछ । ’

विशिष्ट अतिथि संविधान सभा सदस्य बलराम अधिकारीले वडाले दिएका मेसिनको सदुपयोग गरी आत्म निर्भर बन्न सुझाउनु भयो । अहिले अधिकार सम्पन्न तिन तहको सरकारको उदेश्य पनि जनतालाई आत्मनिर्भर र सवरोजगार बनाउने रहेको हुँदा वडाले गरेको काम त्यसैको एक मर्म रहेको उहाँको भनाई छ ।

सामुदायिक रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपानेले सिप हुने ब्यक्ति कहिल्यै भोकै बस्न नपर्ने बताउनु भयो । सिकेको सिपलाई आय आर्जनमा लगाउँदा स्वाबलम्बी बन्न सकिने हुँदा मेसिनको अधिकतम प्रयोग गरी व्यवसायी बन्न उहाँको आग्रह छ ।

सिलाई मेसिन पाएपछि दिदीबहिनी पनि दङ्ग परेका छन् । मेसिन लिएर घर फर्कने क्रममा उनीहरुले मेसिनको सक्दो सदुपयोग गरी आय आर्जनमा लगाउने मायादेवीसंग बताए । कार्यालय सचिव कृष्ण खनालको संचालन र वडा सदस्य सावित्री थारुको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो । यसअघि पनि वडाले महिला लक्षित कार्यक्रम अन्तर्गत सुत्केरीको लागि पौष्टिक आहार, स्वास्थ्य स्वयम् सेविकाको लागि साइकल वितरण लगायतका कार्यक्रम गरिसकेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७ बुधबार ००:००  ५ : ४७ बजे