१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

भारतीय विदेश सचिव नेपाल आउँदै



काठमाण्डौ ।

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला नेपाल आउने हुनुभएको छ । भ्रमणको मिति तय भइनसके पनि मङ्सिरमा उहाँ नेपाल आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल भ्रमणको मिति तोकिएपछि सार्वजनिक गर्ने मन्त्रालयको तयारी छ । भारतको ुद हिन्दूस्तान टाइम्सु ले भने श्रृंगला नोभेम्भर २६ र २७ तारिख अर्थात् मङ्सिर १० र ११ गते काठमाण्डौ जाने जनाएको छ । दुई दिने नेपाल भ्रमणका क्रममा दुई देशबीच सिमा विवादबारे औपचारिक रुपमा कुराकानी हुने खबरमा उल्लेख गरिएको छ ।

दुई देशबीच भइरहेको विवाद समाधान गर्दै सम्बन्ध सुधारका लागि उहाँले छलफल थाल्ने जनाइएको छ । भारतीय सेना प्रमुख मनोज मुकुन्द जनरल नरवणेको तीन दिने नेपाल भ्रमणपछि विदेश सचिव श्रृंगलाको नेपाल भ्रमण हुन लागेको हो । नरवणेले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको थियो । नरवणेको नेपाल भ्रमणलाई ुद हिन्दूस्तान टाइम्सु ले महत्त्वपूर्ण भ्रमणको संज्ञा पनि दिएको छ ।

सीमा विवादका कारण नेपाल र भारतबीच विगत लामो समयदेखि सम्बन्ध चिसिएको छ । नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापनी समेटेर नयाँ नक्सा जारी गरेपछि भारत चिढिएको छ ।यस्तै, भारतले आफ्नो धार्चुला क्षेत्रको पिथौरागढ हुँदै नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्ग खोले छ । सडक खनेको मार्ग आफ्नै भएको भारतले दाबी गर्दै आएको छ । तर यो भूमि नेपालकै भएको इतिहासविद्ले बताउने गरेका छन् । सीमा विवाद बढ्दै गए पनि दुई देशबीच औपचारिक संवाद हुन सकेको छैन ।

प्रकाशित मिति : २५ कार्तिक २०७७ मंगलबार ००:००  २ : ०३ बजे