१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

तिलौरी सडकको कमजोरी ठेकेदारले स्विकारे, तत्काल सुधार गर्न मेयर सिंहको निर्देशन



मायादेवी अनलाइन, तौलिहवा ।
संघीय कार्ययोजना कार्यान्वय इकाई भवन तथा शहरी कार्यालय रुपन्देहीको मातहतमा रहेको कपिलवस्तु नगरपालिका– ६ तिलौरीमा एक हप्ता अघि कंक्रिट प्रबिधिमा निर्माण गरिएको पक्की सडक भत्किएको भन्ने जनगुनासो आए पछि मेयर किरण सिंह, शहरी बिकासका इन्जिनियर ध्रुब पौडेल र सन्तोष यादव र निर्माण कम्पनीका साईट ईन्चार्ज इन्जिनियर सुजन पन्त, संचारकर्मी सहितको टोलीले बाटोको स्थलगत अनुगमन र निरीक्षण गरेको छ ।

उक्त अवसरमा निर्माण गरिएको ८ सय मिटरको सडकमा कमजोरी देखिएकाले सुधार गर्न मेयर सिंहले कडा निर्देशन दिएका छन् । यस्तै तिलौरीदेखि जगदीशपुर तालसम्म बन्ने साढे ७ किलो मिटरको सडक निर्माण समेत गुणस्तरीय र मापदन्ड अनुसार बनाउन मेयर सिंहले निर्देशन गरेका छन् ।

इन्जिनियर पौडेल र यादवले समेत सडक निर्माणमा तोकिएको प्रबिधिमा कमजोरी पाइएकाले तत्कालै सुधार गर्न लगाइएको बताएका छन् । निर्माण कम्पनी लुम्बिनी आशिष सन्तोषी निर्माण सेवाका इन्जिनियर सुजन पन्तले प्रबिधिमा कमजोरी र कमप्याक्ट राम्ररी नहुँदा र धुलो राम्ररी सफा नहुँदा निर्माणमा केही कमजोरी भएको र सुधार गरी निर्माण गरिने बताएका छन् ।

साढे ७ किलो मिटर लम्बाई र ७ मिटर चौाड सडकको लागत ७५ करोड रहेको र एक बर्ष भित्र निर्माण सकिने कार्ययोजना छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७ मंगलबार ००:००  ८ : ३९ बजे