बर्दिया ।
बर्दियाका दुई र दाङका एक जना गरी सोमबार तीन जना संक्रमितको बाँकेमा मृत्यु भएको छ। बर्दियाको ठाकुरद्धारा नगरपालिका वडा नं २ निवासी २९ सोमबार दिउँसो बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
सोमबार विहान मात्रै स्वाब परीक्षण गरिएका उनको बेलुका ६ बजे मात्रै रिपोर्ट पोजेटिभ आएको बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। त्यस्तै बर्दियाकै अर्का एक ३५ वर्षीय कोरोना संक्रमित पुरुषको पनि सोमबार बेलुका बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ। उनी बाँसगढी नगरपालिका वडा नं ८ का बासिन्दा हुन।
चोट लागेर खुट्टाको जोर्नी खुस्केको समस्या लिएर उनी कात्तिक २३ गते नेपालगञ्जस्थित वस्टर्न अस्पतालमा भर्ना भएका थिए। कोरोना शंका लागेर पिसिआर परीक्षण गर्दा उनको बेलुका ५ बजे रिपोर्ट पोजेटिभ आएको र बेलुका सवा ८ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
स्वासप्रश्वासमा एक्कासी समस्या उत्पन्न भएर उनको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। त्यस्तै सोमबार बेलुका नै दाङको घोराही निवासी थप एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको छ।घोराही उपमाहानगरपालिका वडा नं। १५ निवासी ६४ वर्षीय पुरुषको नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताए।
आइतबार राति १२ बजेतिर उनको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि दाङबाट गएर भेरी अस्पतलामा भर्ना भएका थिए।सोमबार विहान १० बजे मात्रै उनलाई कोरोना पुष्टि भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए। स्वाशप्रश्वासमा समस्या बढ्दै गएपछि उनको सोमबार बेलुकी ९ बजेर ९ मिनेट जाँदा मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताए।
मृतक तीनै जनाको बाँकेमै शव व्यवस्थापनको तयारी गरिएको फोकल पर्सन श्रेष्ठले बताए। यो सहित बाहिरी जिल्लाबाट उपचारका लागि बाँके लगिएका ३२ जनाको कोरोनाका कारण मृत्यु भएको छ। त्यस्तै बाँके जिल्लामा मात्रै थप ३५ जनाको मृत्यु भएको छ। हालसम्म बाँकेमा ६७ जनाको कोरोनाका कारण मृत्यु भइसकेको फोकल पर्सन श्रेष्ठले बताए।
प्रतिक्रिया