१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

शल्यक्रिया मार्फत कपिलवस्तु अस्पतालमा पहिलो पटक ‘तिम्लिया बच्चा’ जन्माइयो



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु अस्पतालमा शल्यक्रियाबाट पहिलो पटक तिम्लिया बच्चा जन्माइएको छ । कपिलवस्तु नगरपालिका– २ लम्तीयाकी २५ बर्षीया सामिना खातुनबाट शल्यक्रिया मार्फत २ छोरी र एक छोरा जन्माइएको हो ।

आइतबार दिउँसो एक घन्टाको शल्यक्रिया मार्फत सामिनाले बच्चा जन्माएकी थिईन । दिउँसो १ बजेर १४ मिनेटमा ढाई किलो ओजनको पहिलो छोरी भएको थियो ।

यस्तै १ बजेर २५ मिनेटमा २ किलो एक सय ग्रामको छोरा र १ किलो ६ सय ग्रामको छोरी भएको अस्पतालको प्रसुति बोर्डले जनाएको छ । अस्पतालकी डाक्टर पुनम लामाको अगुवाईमा आधा दर्जन स्वास्थयकर्मीको टोली शल्यक्रियामा सहभागी थिए । टोलीमा डाक्टर संतोष झा, रमेश महतो, रबिना क्षेत्री लगायत थिए ।

आफ्नो जीवनकालमा पहिलो पटक शल्यक्रिया मार्फत तिम्लिया बच्चा जन्माउने काममा जुटेको डाक्टर लामाले बताईन । सामिनाले दोश्रो पटक एकै पटक ३ बच्चा जम्माएकी हुन् । उनको ३ बर्षको छोरी पनि छ । सामिना गर्भवती भएको २ महिना देखि नै अस्पतालमा निगरानीमा थिईन ।
‘अस्पतालको इतिहास मै पहिलो पटक तिम्लिया बच्चाको जन्माउने केस आएको थियो, यो कार्य आफैमा चुनौतीपुर्ण थियो । डाक्टर लामाले भनिन ‘सबै टिमले गरेको कडा मिहिनेतले परिणाम पनि राम्रो आयो, अस्पताल मै नयाँ इतिहास रचियो ।’

सुत्केरी आमा र नवजात शिशुहरुको स्वास्थ्य अवस्था समेत सामान्य रहेको छ । अहिले आमा र शिशुहरुलाई जनरल बार्ड मै राखिएको छ । एकै पटक तिम्लिया बच्चा जन्माएकी सामिनाले सूरु देखि नै डाक्टररहरुले आफु्लाई राम्ररी सेवा दिएकाले आफुले तिम्लिया बच्चा जन्माउन सफल भएको बताईन । उनले बिशेष गरी डाक्टर पुनम लामाले आफ्नो बिशेष ख्याल गरेकोले सहजै बच्चा जन्माएको बताईन ।

अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले शल्यक्रिया मार्फत अस्पतालमा पहिलो पटक तिम्लिया बच्चा जन्माइएकोमा सो कार्यमा लाग्ने पुरै टिमलाई बधाई दिए । उनले अस्पतालमा बिभिन्न सेवाहरु बिस्तार गरिएकाले अहिले दैनिक १० बढी प्रसुति सेवा दिने गरेको बताए ।

अस्पताल ५० बेडको भएसंगै बिभिन्न सेवा सुबिधाहरु समेत बढेका उनले बताए । कोरोना ल्याब स्थापनाको काम आधा सकिएको छ । यस्तै चार बेडको आईसियु र भेन्टिलेरको निर्माण कार्य जारी रहेको छ । यस्तै प्रदेश सरकारको सहयोगमा नवजात शिशुहरुका लागि एनआईसिय्को निर्माण कार्य जारी छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७ मंगलबार ००:००  ७ : ४३ बजे