१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

प्रार्थना गर्छु मास्क लगाउनु होला, यो राजनीतिक अभिव्यक्ति होइनः राष्ट्रपति बाइडेन



एजेन्सी ।
राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले अमेरिकीहरुलाई मास्क लगाउन अपिल गरेका छन् । अति तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस महामारी नियन्त्रणको सबैभन्दा प्रभावकारी माध्यम रहेको भन्दै सबै अमेरिकीलाई मास्कको प्रयोग गर्न उनले आग्रह गरेका हुन् ।

चुनावी अभियानका क्रममा पनि उनले लगातार मास्क लगाउन आग्रह गर्दै आएका थिए र निर्वाचित राष्ट्रपतिका रुपमा उनले सबै अमेरिकीलाई मास्क लगाउन अपिल गरेका हुन् ।

नोभेम्बर ३ मा भएको चुनावमा पराजित भए पनि हार स्वीकार नगरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने मास्कलाई लिएर सदैव आशंका व्यक्त गर्दै आएका छन् । उनले मास्क लगाउन सार्वजनिक रुपमा अपिल गरेका थिएनन् र छैनन् ।

बाइडेनले अमेरिकाले ‘सारै अँध्यारो (भयावह) जाडो याम’ को सामना गरेको र महामारीको अझै खराब लहर आउन बाँकी रहेको भन्दै अमेरिकीलाई सचेत गराएका हुन् । उनले कोभिड–१९ सँग जुध्नका लागि अमेरिकीले राजनीतिलाई पाखा लगाउनु पर्ने बताएका छन् ।

कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासका लागि राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफ्नो टास्क फोर्स घोषणा गरेका छन् र विज्ञानलाई मान्ने बताएका छन् ।

बाइडेनले अन्तरिम अवधिका लागि काम सुरु गरे पनि चुनावको नतिजा स्वीकार गर्न नमानेका ट्रम्पले अदालतमा विभिन्न मुद्दा दायर गरेका छन् ।

उनले चुनावमा धाँधली भएको आरोप लगाए पनि अहिलेसम्म ठोस प्रमाण भने भेटिएको छैन । केही राज्यमा अझै पनि मतगणना भइरहँदा बाइडेन देशव्यापी रुपमा ट्रम्प भन्दा ४५ लाख भन्दा बढि मतले अघि रहेका छन् ।

राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित जो बाइडेन र कमला ह्यारिसले अन्तरिम कालका लागि वेबसाइट पनि तयार पारेका छन् । अन्तरिम कालका लागि जनरल सर्भिस एड्मिनिस्ट्रेसन नामक संघीय एजेन्सीको सहयोग चाहिन्छ । तर ट्रम्पले नियुक्त गरेका सो एजेन्सीका प्रमुखले सहकार्यको सुरुवात कसरी हुने छ भन्ने अहिलेसम्म कुनै जानकारी गराएका छैनन् ।

अन्तरिम कालका लागि कोरोना भाइरस महामारी नियन्त्रणको प्रयास सम्बन्धमा आफ्नो योजना सार्वजनिक गर्दै बाइडेनले सोमबार टेलिभिजन सम्बोधन मार्फत भनेका छन्, ‘म तपाईँहरुसँग प्रार्थना गर्छु, मास्क लगाउनु होस् । यो नै एक मात्र सबैभन्दा प्रभावकारी काम हो कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्ने ।’

उनले भने, ‘मास्क राजनीतिक अभिव्यक्ति होइन, यो त देशलाई एकताको सुत्रमा बाँध्ने माध्यम हो ।’

बाइडेनले तीन सह–अध्यक्ष तथा १० सदस्यसहितको कोरोना भाइरस टास्क फोर्स घोषणा गरेका छन् ।

कोरोना भाइरसको महामारीबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको देश हो । त्यहाँ अहिलेसम्म एक करोड ३६ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । कोभिड–१९ बाट अमेरिकामा दुई लाख ३८ हजार भन्दा बढिको ज्यान गएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७ मंगलबार ००:००  ७ : ३९ बजे