बिष्णु कुमार आले, अर्घाखाँची ।
केही वर्षयता तिहारमा मखमली र सयपत्रीको माला देखिनै छाडेका छन् । प्लाष्टिक तथा कृत्रिम मालाको प्रयोग बढ्दै गइरहेको छ । तिहारमा भारतबाट भित्रिएका प्लाष्टिकका कृत्रिम माला प्रयोग गर्ने बानी बस्दै गएको छ ।
यो वर्ष दसै सकिने बित्तिकै नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार सुरु भएको छ । तिहारमा दिदी–बहिनीले आफ्ना दाजु–भाइलाई मखमली, सयपत्री फूलको माला र सप्तरंगी टीका लगाइदिने प्रचलन रहेको छ । मखमली फूल कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भने दुबो सधैँ हरियो रहने भएकाले तिहारमा यी फूल र बिरुवाका माला निकै महत्वपूर्ण मानिन्छ ।
तिहार पर्वमा गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमली, सयपत्रीको माला र कटुस आदिको प्रयोगले दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, आरोग्य तथा दीर्घायु हुने धार्मिक तथा पौराणिक मान्यता रहेको छ ।
तर अचेल गाउँघरमा फुल्ने मखमली, सयपत्री र गुरधौली फूल देखिन छोडेको छ । प्राकृतिक फूलको महत्वलाई बिर्सँदै गएकाले गाउँघरमा ढकमक्क फूल फूलेपनि देखाउनकै लागि प्लाष्टिकको माला प्रयोग गर्ने संस्कार बस्न थालेको स्थानीय बिष्णु प्रसाद भट्टराईले बताए ।
प्लाष्टिकको माला प्रयोग बढेपछि सयपत्री र मखमली फूल लोपोन्मुख अवस्थामा पुग्न थालेको भट्टराईको भनाई छ । जिल्लामा कृषि विकास कार्यालय र कृषि सम्बन्धि काम गर्ने संस्थाहरूले यसको संरक्षण नगर्दा पनि सयपत्री र मखमली फूल लोप हुने अवस्थामा पुग्न थालेको हो ।
सयपत्री र मखमली नभए तिहारको महत्व कम
नेपालमा अहिलेसम्म ४१ जिल्लामा व्यवसायिक रूपमा फूल खेति भएको छ । काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, नारायणघाट, हेटौंडा, काभ्रे, रूपन्देही, विराटनगर लगायतका विभिन्न नेपालका ४६ जिल्लामा करिव ६९४ फूलको व्यवसाय गर्ने फर्म र नर्सरी सन्चालनमा छन् ।
तिहारमा प्रयोग हुने ८५ प्रतिशत सयपत्रीको माला स्वदेशी उत्पादनले धान्दै आएको छ भने बाँकी १५ प्रतिशत भारतबाट आयात हुने गरेको छ । सयपत्री फूल फुल्ने समय पहिलाको भन्दा छिटो भएका कारण केही वर्ष अघिसम्म ढकमक्क फुल्ने सयपत्री र मखमली फूल हिजो आज लोप हुँदै गएको तीन दशक देखी पुष्प व्यवसाय गर्दै आएका अर्घाखाँचीका कमानसिहं दर्लामी बताउछँन् ।
यो वर्षको तिहार पर्व मलमासका कारण करिव एक महिना पछाडि धकेलिएका कारण कतैकतै करेसाबारीमा फूल फुलेर सुकेको त कतै फुल्दै गरेको व्यवसायी दर्लामी बताउछँन् । ’मानिसले मखमली र सयपत्री फूलको महत्त्व बुझ्नै सकेनन्, फूल उत्पादन भएपनी धेरै जसो मानिसहरूले प्लास्टिकको फूललाई महत्व दिएर गलामा लगाउने गरेका छन्,’ उनले भने ।
नेपालमा झन्डै ६ हजार प्रजातिका फूल फुल्ने गर्छन्। तीमध्ये २४६ प्रजाति फूल अन्य मुलुकमा पाइँदैनन् । कृषि प्रधान देश भएर पनि अर्थतन्त्रमा मुख्य भूमिका खेल्न सक्ने फूलजन्य पेशा अहिलेसम्म उपेक्षामा परेको व्यवसायीहरू बताउँछन् ।
अझै पनि फूलको व्यवसाय शहरदेखि गाउँसम्म पुग्न सकेको छैन । युवाहरू रोजगारीका लागी खाडी मुलुक पुग्ने, तर गाउँका खेतबारी बाँझो फर्कन थालेका छन् । गाउँघरमा बसेर कृषिजन्य तथा फूल व्यवसाय गर्ने बानीको विकास हुन सकेको छैन । यो विषयमा सरकारले पनि खासै चासो नदिएको पुष्पखेतीमा लागेकाहरूको भनाइ छ ।
प्रतिक्रिया