एजेन्सी ।
डोनाल्ड ट्रम्पलाई पराजित गरेर जो बाइडेन ४६ औँ राष्ट्रपति बन्ने निश्चित भएसँगै अमेरिकाका शहरहरुमा समर्थकले विजय उत्सव मनाएका छन् ।
डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले पेन्सिलभेनिया तथा नेभाडको नतिजा आफ्नो पक्षमा पारेसँगै राष्ट्रपतिमा निर्वाचित हुनका लागि चाहिने २७० इलेक्टोरल कलेज मतको आँकडा पारे गरे । त्यससँगै उनका समर्थकहरुले अमेरिकाभर उत्सव मनाउन थालेको अमेरिकी सञ्चारमाध्यमले जनाएको छ ।
बाइडेनको जितसँगै अमेरिकाको इतिहासमा नयाँ अध्याय सुरु भएको र देश एकीकरणको मार्गमा अघि बढ्ने अपेक्षा रहेको उनका समर्थकले बताएका छन् ।
अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि नोभेम्बर तीनमा मतदान भएको थियो । कोरोना भाइरसको महामारीका कारण यो वर्ष १० करोड भन्दा बढि अमेरिकीले अग्रिम मतदान गरेका थिए ।
४८ वर्ष पहिले डेलवरबाट सिनेट सिटमा विजयी भएको बाइडेन अहिले राष्ट्रपति निर्वाचित भएका हुन् । उनी अमेरिकाको इतिहासमा सबैभन्दा पाको उमेरमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने व्यक्ति बन्दै छन् । उनी तेस्रो पटकको प्रयासमा राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
सन् २००८ देखि २०१६ सम्म पहिलो अश्वेत राष्ट्रपति बाराक ओबामको साथमा उपराष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हालेका बाइडेनले आफ्नो उपराष्ट्रपतिका रुपमा अश्वेत महिला कमला ह्यारिसलाई चयन गरेका छन् । ह्यारिस अमेरिकाको इतिहासमा उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला र पहिलो अश्वेत महिला हुन् ।
अमेरिकाको इतिहासमा जो बाइडेन सबैभन्दा धेरै मत पाएर राष्ट्रपतिमा निर्वाचित हुने व्यक्ति बनेका छन् । उनले सात करोड ४५ लाख भन्दा बढि अमेरिकीले बाइडेनको पक्षमा मत दिएका छन् ।
बाइडेन विजयी हुने निश्चित भएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको सपना टुंगिएको छ । दोस्रो विश्वयुद्ध यता दोस्रो कार्यकालका लागि निर्वाचित नहुने ट्रम्प तेस्रो राष्ट्रपति हुन् ।
डेलवरस्थित घरमा रहेका बाइडेनले राष्ट्रपतिमा निर्वाचित भएपछि पूर्व राष्ट्रपति बाराक ओबामा, हाउस अफ रिप्रिजेनटेटिभकी सभामुख न्यान्सी पेलोसी, सिनेटका माइनोरिटी लिडर चक सुमरसहितका नेतासँग टेलिफोन वार्ता गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
एकता र समभावको सन्देशसहित चुनाव लडेका बाइडेनले चार वर्षअघिको चुनावमा डेमोक्र्याटले गुमाएका राज्यहरुमा जित हाँसिल गरेका छन् । यस्तै उनी लामो समयदेखि रिपब्लिकनको पडक रहँदै आएको एरिजोना र जर्जियामा पनि जित हाँसिल गर्ने सम्भावना कायम राखेका छन् । उनले चार वर्षअघि गुमेका विस्कनसिन, मिसिगन र पेन्सिलभेनियामा जित हाँसिल गरेका हुन् ।
चार राज्यको नतिजा आउन बाँकी रहेका बेला ५३८ इलेक्टोलर कलेज मत मध्ये २७९ इलेक्टोलर कलेज मत पाएका छन् । ट्रम्पको पक्षमा २१४ इलेक्टोरल कलेज मत छ ।
११ तथा १६ इलेक्टोरल कलेज मत रहेको एरिजोना र जर्जियामा बाइडेन अघि छन् । तीन तथा १५ इलेक्टोरल कलेज मत रहेको अलास्का र नर्थ क्यारोलाइनामा ट्रम्प अघि छन् ।
बाइडेन निर्वाचित भए पनि ट्रम्पले त्यसलाई स्वीकार गरेका छैनन् र उनले बाइडेनलाई बधाई दिन अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
उनले लगातार धाँधलीको आरोप लगाएका छन् र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् । तर त्यसको कुनै पनि प्रमाण भने अहिलेसम्म नभेटिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले नेपाली समय अनुसार आइतबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्ने छन् । यस्तै कीर्तिमानी जित हाँसिल गरेकी उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले पनि सम्बोधन गर्ने छिन् ।
प्रतिक्रिया