एजेन्सी ।
स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ ।घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित रियल बेटिसलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । ओसुमाने डेम्बेले, एन्टोनियो ग्रिजम्यान र पेड्रीले एक एक गोल थपे । बेटिसका एन्टोनियो सानाब्रिया र लोरेन मोरानले एक एक गोल फर्काए ।
पहिलो हाफको इन्जुरी समयमा एन्टोनियोले गोल गर्दै बेटिसलाई १-१ गोलको बराबरीमा फर्काए ।खेलको ४९ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए ।खेलको ६१ औं मिनेटमा मान्डीले रातो कार्ड पाएपछि बेटिस १० खेलाडीमा समेटियो ।
आफ्नो पेनाल्टी क्षेत्रमा हातले बल रोकेपछि मान्डीले रातो कार्ड पाएका थिए । र, बार्सिलोनाले पेनाल्टी पाएको थियो ।जसमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका मेस्सीले सहजै गोल गर्दै टोलीको अग्रता ३-१ को बनाए । मेस्सी अन्सु फातीको स्थानमा ४६ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
खेलको ७४ औं मिनेटमा बेटिसका मोरानले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए । तर, ८२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-२ को अग्रता दिलाए ।
त्यसपछि खेलको ९० औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई ५-२ को जित दिलाए ।जितसँगै बार्सिलोनाले ७ खेलमा ११ अंक जोडेको छ । तेस्रो जित निकालेको बार्सिलोना आठौं स्थानमा समेत उक्लिएको छ । बेटिस ९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
प्रतिक्रिया