१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी



गुल्मी ।
गुल्मी कारागारको क्षमता पाँच महिला र २० पुरुष गरी २५ जनाको हो । अहिले कारागारमा ८९ जना छन् ।

पुरुष कैदी ४३ र बन्दी ३४, महिला कैदी चार र बन्दी चारजना छन् । कारागारमा दुईजना आश्रित र दुईजना ६५ वर्षमाथिका ज्येष्ठ नागरिक छन् । क्षमताभन्दा तीन गुणाभन्दा पनि बढी कैदीबन्दी राखिएकाले कारागार सुधारगृह नभई कैदखानामै परिणत भएको छ ।

अर्कोतिर कोभिड–१९ को त्रासले कैदीबन्दीलाई सताउने गरेको छ । सरकारले कोरोना संक्रमणको कारण सबै क्षेत्रमा सामाजिक दूरी कायम गर्न भने पनि यहाँ त्यो सम्भव छैन । साँघुरो र जीर्ण भवनसहितको कारागारमा सरकारले तय गरेको मापदण्डअनुसार भौतिक दूरी कायम गर्न नसकिएको कैदीबन्दीको भनाइ छ ।

जिल्ला कारागारका नाइके यमबहादुर सूर्यवंशीले दिउँसोमा बाहिर बस्ने र काम गर्ने भएकाले केही सहज भए पनि राति सुत्ने वेलामा कन्तबिजोक हुने गरेको गुनासो गरे ।

चिसो बढ्दै गएको छ । तम्घासको चिसोले घरपरिवारमै बसेकालाई पनि सताउँछ । जीर्ण कारागारमा सीमित स्रोत–साधनमा जीवन कटाइरहेका कैदीबन्दीलाई समस्या नहुने कुरै भएन । चिसो मौसममा कारागारले दिएका मात्रै ओड्ने–ओछ्याउने पुग्दैन ।

गुल्मी कारागारका कैदीबन्दीले उत्पादन गरेका सामग्रीको रकम नपाएपछि प्रमुख जिल्ला अधिकारी र पत्रकारलाई गुनासो गरेका छन् । भदौमा उत्पादन गरेर पोखरा पठाएका साढे आठ सयभन्दा बढी मुढाको पैसा नै गायब भएको छ । प्रतिमुढा तीन सयका दरले कारागारका पूर्वनाइके लेखनाथ गिरी र चौकीदारले मुढा बिक्री गरेको झन्डै साढे दुई लाख रकम कैदीबन्दीलाई दिएका छैनन् । उनीहरू अहिले तनहुँ कारागार सरुवा भएका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७७ शनिबार ००:००  ६ : २८ बजे