१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

आइपिएलको एलिमिनेटरमा बेंगलोर र हैदराबाद भिड्दै



काठमाडौं ।

इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट २०२० को एलिमिनेटरमा शुक्रबार रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदराबाद भिड्दैछन्। नेपाली समयअनुसार पौने ८ बजे सुरु हुने यो खेलमा विजयी हुने टिमले फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्सको सामना गर्ने छ।

लिग चरणमा हैदराबाद तेस्रो र बैंग्लोर चौथो स्थानमा रहेका थिए। दुवैको समान १४ अंक भए पनि नेटरनरेटमा हैदराबाद अगाडि रहेको थियो। बैंगलोरले पछिल्ला चार खेल लगातार हारेको छ। हैदराबादले भने लगातार तीन खेल जितेको छ। उसले अन्तिम खेलमा शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्सलाई १० विकेटले हराएर प्ले अफमा स्थान बनाएको थियो।

आइपिएलमा हैदराबाद र बैंगलोर हालसम्म १६ पटक भिडेका छन् जसमा हैदराबादले ९ जित र ७ हार ब्यहोरेको छ। यो सिजन पहिलो खेलमा बैंग्लोरले हैदराबादलाई १० रनले हराएको थियो भने दोस्रो खेलमा हैदराबादले बैंगलोरलाई पाँच विकेटले पराजित गरेको थियो गत साता मात्र। बैंग्लोर विराट कोहलीको कप्तानीमा छ।

टोलीमा एबी डे भिलियर्स, क्रिस मोरिस, देवदुत पडिक्कललगायत विस्फोटक ब्याट्सम्यान छन्। यसअघि तीनपटक फाइनल पुगेको बैंग्लोरले हालसम्म प्रतियोगिताको उपाधि जित्न सकेको छैन।

डेभिड वार्नरको कप्तानीमा रहेको हैदराबादमा मनिष पाण्डे, केन विलियम्सन, रसिद खान, जेसन होल्डरजस्ता भरपर्दा खेलाडी छन्। हैदराबाद सन् २०१६ को आइपिएल संस्करण विजेता हो। त्यतिबेला उसले फाइनलमा बैंग्लोरलाई नै हराएको थियो। मुम्बई यो सिजन फाइनल पुगिसकेको छ। मुम्बईले बिहीबार राती भएको पहिलो क्वालिफायरमा दिल्लीलाई हराएको थियो।

प्रकाशित मिति : २१ कार्तिक २०७७ शुक्रबार ००:००  २ : २९ बजे