९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बाणगंगाद्धारा आधारभूत तहमा ९३ पेजको ‘स्थानीय पाठ्यक्रम’ तयार, यस्ता छन् विशेषता



चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
लामो समयको कसरतपछि कपिलवस्तुको बाणगंगा नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । आधारभूत तहको कक्षा ६ र ७ मा यसै शैक्षिक सत्रबाट लागु हुने गरी ‘कपिलवस्तु र बौद्ध शिक्षा’ नामक ९३ पेजको स्थानीय पाठ्यक्रम तयार भएको हो । संविधानमा स्थानीय सरकारलाई १ सय पूर्णाङ्कको पाठ्यपुस्तक बनाएर अध्यापन गराउन सक्ने व्यवस्था छ । सोही व्यवस्था अनुरुप मुलुकभरका ७ सय ५३ स्थानीय तहले स्थानीय परिवेशलाई आधार मानेर पाठ्यपुस्तक निर्माण गर्न पाउनेछन् ।

कपिलवस्तु जिल्लाका १० पालिकामध्ये बाणगंगामा पहिलोपटक लागु गर्न सुरु गरिएको यस पाठ्यक्रममा कपिलवस्तु जिल्लाको ऐतिहासिकता, सामाजिक, धार्मिक, पुरातात्विक, पर्यटकीय र सांस्कृतिक महत्व दर्शाइएको छ भने बुद्ध र बुद्धको जीवनीसंग सम्बन्धित विषयहरुलाई मसिनो गरी उल्लेख गरिएको छ ।

यसै पाठ्क्रममा आधारित भएर नगरले कक्षा ६ मा ४६ र ७ मा ४७ पेज गरी ९२ पेजमा ५० । ५० पूर्णाङ्कको पाठ्यपुस्तक समेत प्रकाशन भएको कुरा विहीबार एक कार्यक्रमको आयोजना गरि जानकारी दियो ।

बाणगंगा नगरपालिकाको नगर सभाबाट नीतिगत रुपमा प्रस्ताव गरी कपिलवस्तु र बौद्ध शिक्षा विषयक पाठ्क्रम निर्माण प्रकृया अगाडी बढाएकोमा अहिले आएर मात्र कार्यान्वयनको चरणमा पुगिएको सोही कार्यक्रममार्फत् शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख उप–सचिव बाबुराम भट्टराइले जानकारी दिनुभयो ।

यस पाठ्यक्रम निर्माणको लागि डम्बर शर्माको संयोजकत्वमा एक समिति नै बनेको थियो । सो समितिले १ बर्षसम्म यस विषयमा गहन खोज, अध्ययन, अनुसन्धान गरी पठनपाठनको लागि बिभिन्न विषयवस्तु तयार पारेको संयोजक शर्माले बताउनु भयो ।

नेपाल सरकारको संघीय मर्म अनुसार तयार पारिएको यस पाठ्यक्रमको अध्ययन, अध्यापनपछि पछि बाल बालिकाहरुले कपिलवस्तुमा रहेको ऐतिहासिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय, आर्थिक पक्षहरुको बारेमा जानकारी पाउने छन् भने गौतम बुद्धको जीवनी, वौद्ध दर्शन योग, कपिलवस्तुका सम्पदा लगायतका विषयमा आधारभूत ज्ञान हासिल गर्न सक्ने संयोजक शर्माले जानकारी दिनु भयो ।

कपिलवस्तु र बौद्ध शिक्षा नामक पुस्तकमा कक्षा ६ मा ६ पाठ र कक्षा ७ मा पनि ६ पाठ नै समावेश गरिएको छ । कक्षा ६ मा हाम्रो कपिलवस्तु, बुद्धकालिन राज्य र गणराज्य, बुद्ध कालिन व्यक्तित्वहरु, बुद्धका मूल उपदेशहरु, ध्यानको आवश्यकता र महत्व, प्रयोगात्मक कार्य नामक पाठहरु समावेश गरिएको छ भने त्यससंग सम्बन्धित उप शिर्षक राखेर बिद्यार्थीले बुझ्ने गरी विषयवस्तु समावेश गरिएको छ ।

यस्तै कक्षा ७ मा हाम्रो कपिलवस्तु, कपिलवस्तुका पूर्वाधार तथा आर्थिक सम्भाव्यता, बुद्धकालिन केही महत्वपूर्ण व्यक्तित्वहरु, बौद्ध शिक्षा र साहित्य ध्यानको परिचय, प्रयोगात्मक कार्य आदि समेटी पाठहरु तयार पारिएका छन् ।

साथमा पाठसंग सम्बन्धित कठिन शब्दको अर्थ, प्रश्नोत्तर आदिलाई अभ्यासको रुपमा राखिएको छ । पाठ सुरु हुनु पूर्व कक्षा ६ मा ‘त्रिरत्नबन्दना’ र ७ मा ‘पंचशिलको बन्दना’ राखिएको छ । सो प्रवद्धिकरण कार्यक्रममा अब आगामी दिनमा आधारभूत तहका सबै कक्षामा लागु् हुने गरी पाठ्यक्रम तयार शिक्षा शाखा प्रमुख उप–सचिव बाबुराम भट्टराईले मायादेवीसंग बताउनु भयो । यो पहिलो अभ्यास भएकाले प्राप्त सुझावका अधारमा आगामी दिनमा त्यसलाई थप परिस्कृत र परिमार्जन गरिने उहाँको भनाई छ ।

नगरको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा विहीबार वडा नम्बर ४ झुँगामा रहेको पिस हिमालय रिसोर्टमा ‘स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधिकरण’ कार्यक्रम मार्फत् तयार भएको पाठ्यक्रम र पाठ्यपुस्तक सार्वजनिक गरिएको हो ।

सो प्रबोधिकरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य अतहर कमाल मुसलमानको प्रमुख आतिथ्य रहेको थियो भने राष्ट्रिय सभा सदस्य विमला घिमिरे, पूर्व मन्त्री तथा राजदूत दीप कुमार उपाध्याय विशिष्ट अतिथिको रुपमा रहनु भएको थियो ।

यस्तै नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेल, काँग्रेसका रवि बहादुर काफ्ले, लुम्बिनी बौद्ध विश्व विद्यालयका प्रतिनिधि तथा चिन्तक, जनप्रतिनिधि, पेशागत शिक्षक संगठनका प्रतिनिधि, बिभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सिपल, संचारकर्मी लगायतको सहभागिता थियो ।

कार्यक्रममा बोल्नेहरु वक्ताहरुले कपिलवस्तु जिल्लामै नगरले निकै राम्रो काम गरेको भन्दै प्रशंसा गरेका छन् । नगर प्रमुख मंगल प्रसाद थारुको सभाध्यक्षमा सम्पन्न कार्यक्रमको संचालन शिक्षा अधिकृत खिम बहादुर जिसीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७७ बिहिबार ००:००  ३ : २२ बजे