पाल्पा ।
पाल्पाको तानसेनस्थित मिसन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिकाका ४७ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
कात्तिक १८ गते अस्पताल भर्ना भएका उनको बुधबार स्वाब संकलन गरिएको थियो । बुधबारै मृत्यु भएका उनको बिहीबार रिपोर्ट आउँदा कोरोना पुष्टि भएको थियो । परिवारका अनुसार ती व्यक्तिलाई पहिल्यैदेखि मधुमेहको समस्या थियो ।
आफन्तले भने अस्पतालले लापरबाही गरेकाले बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राख्नुपर्ने बिरामीलाई अस्पतालले सामान्य तरिकाले उपचार गरेको उनीहरूको भनाइ छ । ‘मंगलबार भर्ना भएको बिरामीको बुधबार मात्र स्वाब पठाइयो,’ एक आफन्तले भने, ‘कोभिड शंकास्पद हो भने सोही अनुसार व्यवस्थापन गर्नुपर्थ्यो । बिहीबार एकाएक प्रहरी लगाएर छुट्टै बस्न लगाइएको छ ।’
यससँगै पाल्पामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
प्रतिक्रिया