मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा कपिलवस्तुका यज्ञ प्रसाद भट्टराईले उम्मेदवारी दिनुभएको छ ।
महासंघको ५४ औं वार्षिक साधारण सभामा कार्यकारिणी समितिको निर्वाचनका लागि कपिलवस्तु उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहनुभएका भट्टराईले सोमबार उम्मेदवारी दर्ता गराउनु भएको हो ।
संघको प्रदेश सदस्य समेत भइसक्नु भएका भट्टराईले महासंघको आसन्न निर्वाचनमा जिल्ला नगरको खुल्ला तर्फ कार्यकारिणी सदस्य पदका उम्मेदवारी दिनुभएको संघका अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनुभयो ।
महासंघका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छाको समर्थन रहेको किशोर प्रधान नेतृत्वको समुहबाट उम्मेदवारी दर्ता गराउनु भएका भट्टराईले कपिलवस्तु उद्योग वाणिज्य संघको तर्फबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।
हालको केन्द्रिय नेतृत्वसंग जिल्लाको निकटको सम्बन्ध र सहकार्यले आउदो निर्वाचनमा भट्टराईको राम्रो पकड देखिएको हो । महासंघका केन्द्रिय अध्यक्ष भवानी राणा, बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, लगाएतको वर्तमान कार्यकारिणी समिति कपिलवस्तु उद्योग वाणिज्य संघको कृयाशिलता र अन्य शाखा भन्दा उत्कृष्ट काम गरेकाले केन्द्रमा राम्रो प्रभाव पारेको बताइएको छ ।
व्यवसायिक हकहित र संरक्षण, संस्थागत विकास र कोभिड १९ को महामारीका समयमा कपिलवस्तु उद्योग वाणिज्य संघले खेलेको भूमिकालाई केन्द्रिय टिमले उच्च मूल्यांकन गरेकाले आफुहरु उत्साहित भएर शाखाको तर्फबाट कार्यकारिणी सदस्यमा उम्मेदवारी दर्ता गरेको संघका अध्यक्ष पौडेलले बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघको काठमाण्डौमा आउदो मंसिर ११–१३ सम्म ५४ वार्षिक साधारण सभा तथा निर्वाचन हुदैछ । उम्मेदवारी दर्ता गरेसंगै बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार किशोर प्रधानको समूहले नेपाल उद्योग वाणिज्य महासंघको शुद्धिकरण र सुदृढिकरण भन्ने अभियानलाई दृढताका साथ अघि सारेको छ ।
महासंघलाई उद्योग मैत्री बनाउन आफनो नेतृत्व दृढ भएर लाग्ने र कोभिड-१९ बाट प्रभावित मुलुकको अर्थतन्त्र उकास्न आफुहरु केन्द्रित हुने किशोर प्रधान समूहका कार्यकारिणी सदस्य पदका उम्मेदवार भट्टराईले जानकारी दिनुभयो ।
सोमबार काठमाण्डौंमा उम्मेदवारी दर्ता गराएसंगै कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल, उम्मेदवार भट्टराई, सल्लाहकार गणेश बहादुर क्षेत्री, सचिव मनोज पौडेल विभिन्न शाखा भेटघाट र चुनाव प्रचार प्रसारमा जुटेको संघका प्रेस सल्लाहकार हरि अधिकारीले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया