९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बुद्धभूमिले थाल्यो दुई लाखसम्मका योजना वडाबाटै सम्झौता गर्न



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले दुई लाखसम्मका योजना वडाबाटै सम्झौता गर्न थालेको छ । वडाका सम्पूर्ण योजना नगरपालिकाबाट सम्झौता गर्नु पर्दा सेवाग्राहीलाई झन्झट भैरहेको बेला बुद्धभूमिले वडाबाटै योजना सम्झौता गर्न थालेको हो ।

संघीयताको मूल मर्म जनतालाई सरल र सहज सुविधा दिनु भएपनि सबै काम नगरपालिकाबाट हुँदा जनतालाई दुख हुँदै आएको थियो । यसैको समस्यालाई बुझेर नगरपालिकाले दुई लाखसम्मका योजनालाई नगरपालिकाबाटै सम्झौता गर्ने व्यवस्था मिलाएको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

चालु आवबाटै यो कामको सुरुवात भएको बताउँदै नगर प्रमुख श्रेष्ठले अब दुई लाखसम्मका सबै काम वडाबाट हुने भन्दै नगरबासीलाई सहज हुनेमा विश्वास व्यक्त गर्नुभयो । वडाबाट योजना सम्झौतासंगै एक÷एक जना प्राविधिकको पनि व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

वडाका लक्षित वर्गका लागि छुट्टाएका कार्यक्रम, साना साना अरु विकास निर्माण सम्बन्धि कार्यक्रम अब वडाबाटै सम्झौता हुने भएपछि नगरबासीलाई नगरपालिका धाउनुपर्ने बाध्यता हटेको प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बताउनुभयो ।

अब वडामा कार्यरत कर्मचारीले वडाका योजना सम्झौता गर्ने र भुक्तानीका लागि मात्र नगरपालिका आउनुपर्ने वातावरण मिलाउने उहाँले बताउनुभयो । काम सकाएपछि नगरबाट अनुगमन हुने र भुक्तानीका लागि वडाबाट आवश्यक कागजात नगरमा आउने उहाँले जनाउनुभयो ।

जिल्लामा अरु स्थानीय तहभन्दा फरक ढंगले काम गर्दै आएको बुद्धभूमिले जनता केन्द्रित काम गरेर लोकप्रियता कमाउदै आएको छ । अधिकांश स्थानीय तहले नगरबाटै वडाका सम्झौता गर्ने गरेकोमा बुद्धभूमिले वडालाई अधिकार दिएको हो । वडाको कार्यक्रम सम्झौता गर्न दिनहुँ नगरमा धाउनुपर्ने र समयमा काम नहुँदा सेवाग्राहीलाई समस्या हुने गरेको थियो । बुद्धभूमिमा भने यो समस्या हटेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७ बुधबार ००:००  ७ : ३० बजे