पाल्पा ।
जिल्लाको सदरमुकाम तानसेनमा रहेको पाल्पा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी बस्न बाध्य छन् । उनीहरू न्यूनतम स्वास्थ्य मापदण्डको समेत पालना गर्न पाएका छैनन् ।
१७५ क्षमता रहेको बन्दी गृहमा २२१ जनालाई राखिएको छ। यहाँको पुरूष सुधार गृहमा आठ वटा कोठा छन् । साँघुरा कोठा भएकाले कम्तीमा ३५ जना एउटा कोठामा बस्दै आएको कारागारका सूचना अधिकारी गणेश कुमार गैरेले बताए। उनीहरू खाट एक ठाउँ जोडेर सुत्न बाध्य छन् ।
‘अहिलेसम्म कोरोनाको संक्रमण छैन,’ सिनियर अहेब समेत रहेका गैरेले भने, ‘जोखिम भने उत्तिकै छ । कारागारमा कोरोना भाइरस फैलिए बचाउन सकिने अवस्था छैन ।’
उनका अनुसार चार महिनाअघि प्रतिनिधिमुलक रुपमा स्वाब संकलन गरेर कैदीबन्दीको पिसिआर परीक्षण गरिएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको थियो । पछिल्लो समयमा भने परीक्षण नै भएको छैन । केहीलाई सामान्य रुघाकोकी र ज्वरो आएको अवस्था छ । मौसमी बिरामी हुनसक्ने भएकाले सामान्य औषधि चलाउदै आएको गैरेले बताए ।
कोठाभित्रको बसाइ साँघुरो भए पनि कोरोनाबाट सचेत रहेको कारागार प्रमुख भक्तिसरा रानाले बताइन् । अदालतमा हाजिर गराउँदा आवश्यक स्वास्थ्य मापदण्ड पालना गरेर लैजाने गरेको उनको भनाइ छ ।
प्रतिक्रिया