९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

चार नम्बर तौलिहवा सडकलाई ‘एसएस रोड’ बनाउने काम धमाधम जारी



मायादेवी अनलाइन, चार नम्बर ।
एसएस रोड बनाउन चार नम्बर तौलिहवा सडकखण्डमा धमाधम काम जारी छ । कोरोना र चाडबाडका कारण सडक विस्तारमा ढिलाई भएको अवस्थामा केहीदिनदेखि भने धमाधम काम भएको हो ।

गत आइतबार चार नम्बरदेखि दक्षिणतिर इन्जिनियरहरुले नाप लिएपछि अहिले सडकको दायाँबाँयाँका १५ । १५ मिटरभित्र पर्ने केही संरचना हटाउन स्थानीय लागेका छन् भने डोजरले बाटो खन्ने काम पनि संगै थालेको छ ।

तौलिहवाबाट सडक विस्तार हुँदै आएकोमा हिजोआज चार नम्बरदेखि पनि धमाधम काम भइरहेको सडक निर्माणको ठेक्का लिएको अर्घाखाँची निर्माण सेवाले जनाएको छ । ठेक्का कम्पनीका अनुसार कुनै अवरोध नआए निर्धारित समयभित्रै विस्तारको काम सकिने बताइएको छ ।


नापको क्रममा चार नम्बरबाट तलको भागमा एक/दुई घरका भित्ता परेका छन् भने अधिकांश घरका पेटी परेका छन् । कम्पनीको निर्देशन पछि डोजरले तिनै पेटी भत्काएर धमाधम अहिले बाटो खनिरहेको छ । यस्तै खानेपानी आयोजनासंग समन्वय गरेर ढलको निकासको बारेमा पनि छलफल गरी काम सुरु गरिएको कम्पनीले जनाएको छ ।

नाप लिएर सम्बन्धित घर धनीलाई आवश्यक निर्देशन दिइसकेको अवस्थामा अब बाटो खन्न कुनै अवरोध नभएका कारण तिहारपछि सुरु गर्ने भनिएको काम पनि सुरु गरिएको हो । विहान र साँझको समयमा अहिले काम भइरहेको छ भने भिँडभाड नभएको बेला दिउँसोमा पनि काम हुने गरेको छ ।

कम्पनीले सडकको दायाबायाँमा परेका संरचना नहटाए डोजर चलाउने चेतावनी दिएपछि घर तथा पसल धनीले पनि समयमै ठाउँ खालि गरिदिएका छन् । एकदुई स्थानमा बाहेक अन्य कहीँ पनि बाटो खन्न समस्या नभएको कम्पनीले जनाएको छ ।

पछिल्लोसमय १५ मिटर मात्र नभएर २५ मिटरसम्म सडक विस्तार हुने हल्लाले सर्वसाधारण त्रासमा थिए । तर अहिले १५ मिटरसम्म मात्र सडक विस्तार हुने भए पछि सर्वसाधारणमा रहेको त्यो त्रास तत्कालको लागि थामथुम भएको छ ।

यद्धपी पछि के हुने हो भनेर संरचना बनाएर बसेका स्थानीय चिन्तित छन् । यदि बाहिर आएको हल्लाजस्तै एसएस रोडको लागि दायाँ बायाँ २५ मिटरसम्म सडक विस्तार हुने हो भने यस सडकखण्डका अधिकांश घर तथा पसलहरु भत्कने निश्चित छ ।

लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले अहिले यो तनावमा नरहन आग्रह गर्दै यसबारे छलफल भइरहेको बताउनु भयो । सडक विस्तार पछि दुई लेनमा सवारी गुड्ने छन् भने पैदल यात्रीको लागि हिँड्न छुट्टै व्यवस्था हुने छ । सडक निर्माणपछि यस क्षेत्रमा हुने दुर्घटनामा पनि कमि आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७ बुधबार ००:००  ६ : ५८ बजे