एजेन्सी ।
अमेरिकी नयाँ राष्ट्रपतिका लागि भएको मतदानको अहिले मतगणना भइरहेको छ। प्रारम्भिक रूझानमा दुबै उम्मेदवार डोनाल्ड ट्रम्प र जो बाइडेनबीच कडा प्रतिष्पर्धा भइरहेको छ।
यो चुनावमा ट्रम्पले बाइडेनलाई यति कडा टक्कर देलान् भन्ने धेरै कमले सोचेका थिए। डेमोक्र्याटहरूले भारी मतान्तरले बाइडेन विजयी हुने आशा गरेका थिए। विभिन्न मत सर्वेक्षणले पनि बाइडेनलाई ट्रम्पभन्दा निकै अघि देखाउँथे।
बुधबार बिहान आएका प्रारम्भिक मतपरिणामले भने डेमोक्र्याटिकलाई झड्का लागेको छ। किनकी बाइडेनले ट्रम्पबाट खोस्ने सम्भावना देखेका फ्लोरिडा, ओहाओ, आइवालाई ट्रम्पले आफ्नो पक्षमा पार्ने देखिएको छ।बाइडेनले रिपब्लिकनबाट खोस्ने अपेक्षा गरेका जर्जिया र नर्थ क्यारोलाइनामा पनि ट्रम्पले अग्रता लिएका छन्।
२९ इलेक्ट्रोल भोट भएको फ्लोरिडामा त ट्रम्पले लगभग जितिसकेका छन्। फ्लोरिडामा बाइडेनले जितेको भए ट्रम्पलाई फेरि ह्वाइट हाउस फर्किन कठिन हुन सक्थ्यो।
ट्रम्पले सन् २०१६मा जितेका कुनै राज्य अहिलेसम्म बाइडेनले खोस्न सकेका छैनन्। बाइडेनका लागि उत्साहको संकेत एरिजोनामा देखिएको छ। २०१६मा ट्रम्पले जितेको उक्त राज्यमा बाइडेनले लिड गरिरहेका छन्। चार वर्षअघि हिलारी क्लिन्टनले झिनो मतान्तरले जितेको तर यसपालि ट्रम्पले आफ्नो पक्षमा पार्छु भनेको न्यू ह्याम्स्पायरमा पनि बाइडेनले जितेका छन्।
मंगलबार राति आफ्ना दाताहरूसँगको ब्रिफिङमा बाइडेनको अभियानका अधिकारीहरूले क्युबाली(अमेरिकीको बाहुल्यता रहेको मियामी क्षेत्रमा आफूहरूको फितलो प्रदर्शन भएको स्वीकार गरेका छन्। ओहाओमा केही सकारात्मक संकेत देखिएको उनीहरूको विश्लेषण थियो।
बाइडेनका समर्थकहरूले अब व्यग्रताका साथ कुरिरहेको मत परिणाम पेन्सिलभेनिया, मिसिगन र विस्क्नसनको हो। ती राज्यहरूमा ४ वर्षअघि ट्रम्पले जितेका थिए भने यसपालि कडा टक्कर हुने देखिएको छ। समर्थकहरूलाई सम्बोधन गर्दै बाइडेनले पेन्सिलभेनियामा अन्तिममा आफूले जित्ने दाबी गरेका छन्।
मिसिगन र विस्क्नसनमा मतगणना सकिने अझै समय लाग्न सक्छ भने पेन्सिलभेनियाले भोलिमात्र अर्ली भोटिङको गणना सुरू गर्नेछ। यसको अर्थ अमेरिकी राष्ट्रपतिको अन्तिम परिणाम आउन केही दिन अझै लाग्न सक्छ।
प्रतिक्रिया