दाङ ।
बहुमूल्य नागमणि भन्दै दाङ घोराहीका एक व्यक्तिबाट झन्डै २ करोड रकम ठगी भएको छ। दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ निवासी माधवप्रसाद घिमिरेबाट एक करोड ८९ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दैलेख जिल्लाको नौमुरे गाउँपालिका वडा नं ४ निवासी ३५ वर्षीय धनबहादुर रोका, सल्यान जिल्लाको कुमाख गाउँपालिका वडा नं ५ निवासी ३१ वर्षीय कृष्ण शाह र सल्यानको शारदा नगरपालिका वडा नं ९ निवासी ३० वर्षीय डिल्लीबहादुर बोहरा रहेको बाँकेका जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए।
उनीहरूले एउटा सानो चम्किलो वस्तुलाई घिमिरेलाई देखाई त्यसलाई नागमणि भएको भन्ने भ्रममा पारेर ठूलो रकम ठगी गरेको एसपी रानाले बताए। नागमणि आफुसँग राख्दा त्यसको धार्मिक महत्व हुनुका साथै व्यापार व्यवसाय राम्रो हुने, घरमा लक्ष्मीको बास हुने, परिवारका सदस्यको आयू लामो हुने र घर परिवारमा सुख शान्ति र संम्वृद्धि हुन्छ भन्ने विश्वास दिलाएर तीन जनाले घिमिरेलाई ठगी गरेको एसपी रानाले बताए।
‘घिमिरेलाई ललाइ फकाइ प्रलोभनमा पारेर तीन जना मिलेर बहुमूल्य नागमणि भन्दै ठगी गरेको देखियो,’ एसपी रानाले भने ‘पीडितको जाहेरीका आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भयो।’
एसपी रानाका अनुसार ठगी गर्ने उक्त गिरोहलाई बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १ बाट ४० लाख नगदसहित नियन्त्रणमा लिइएको जानकारी दिए। प्रहरीले उनीहरूलाई कात्तिक १५ गते पक्राउ गरिएको बताएको छ। प्रहरीका अनुसार नेपालगन्जको एक होटलमा बसेर घिमिरेवाट पैसा बुझेपछि उनीहरूले फरार भएका थिए। मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २४९ अनुसार यसरी ठगी गर्ने व्यक्तिलाई ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवानाको व्यवस्था रहेको एसपी रानाले बताए।
प्रतिक्रिया