मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु जिल्लाको एक मात्र विश्व विद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्राप्त सिद्धार्थ क्याम्पसको सहायक प्राचार्यमा दुई जना प्राध्यापक नियुक्त हुनु भएको छ ।
क्याम्पसका अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षतामा मंगलबार बसेको क्याम्पस संचालक समितिको वैठकले प्राध्यापक गोविन्द खनाल र कमल पोख्रेललाई सहायक प्राचार्यमा नियुक्त गरेको हो ।
खनाल वि सं २०६१ सालमा क्याम्पस अध्यापनमा जोडिनु भएको थियो । उहाँले अंग्रजी विषयमा एमएड र बुद्धिजममा एम.ए. गर्नु भएको छ । खनालले क्याम्पसले क्यूएए मान्यता पाउँदा संयोजकको भूमिका समेत निर्बाह गर्नु भएको थियो ।
यस्तै अर्का सहायक प्राचार्य पोख्रेल वि सं २०५८ सालमा अध्यापकको रुपमा जोडिनु भएको थियो । उहाँले व्यवस्थापन विषयमा स्नातकोत्तर तह हासिल गर्नु भएको छ । उहाँहरुको योग्यता, क्याम्पसमा दिनु भएको लामो योगदान र कार्य सम्पादनको मुल्याङ्कन गर्दै सहायक प्राचार्यमा नियुक्त गरिएको क्याम्पसका अध्यक्ष पोख्रेलले बताउनु भयो ।
क्याम्पसले क्यूएए मान्यता पाएपछि थप जिम्मेवारीहरु पनि थपिएकाले प्रशासनिक र शैक्षणिक कामलाई थप चुस्त दुरुस्त राख्न दुई सहायक प्राचार्य नियुक्त गरिएको क्याम्पस प्रमुख खेमराज शर्माले मायादेवीसंग बताउनु भयो । सहायक प्राचार्यमा नियुक्त भएपछि खनाल र पोख्रेलले संचालक समितिलाई धन्यबाद दिँदै क्याम्पसको श्रीवृद्धिमा आगामी दिनमा अझै दत्तचित्त भएर काम गर्ने बताउनु भयो ।
यसैबीच प्राध्यापक राजकुमार अर्याल क्याम्पसको प्लस टु संयोजकमा नियुक्त हुनु भएको छ । क्याम्पसमा लामो समयसम्म अध्यापनरत अर्याललाई मंगलबार बसेको वैठकले नै प्लस टु संयोजकमा नियुक्त गरेको हो । वैठकमा राष्ट्रिय सभा सदस्य तथा संचालक विमला घिमिरे, बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारु लगायतको सहभागिता थियो ।
यस अगाडि क्याम्पसको सहायक प्राचार्यमा वेदुराम अर्याल पनि नियुक्त हुनुभएको थियो । मंगलबार थप खनाल र पोख्रेल पनि सहायक प्राचार्यमा नियुक्त भएपछि क्याम्पसमा तीन जना सहायक प्राचार्य रहनुहुनेछ ।
प्रतिक्रिया