९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

स्कूल हिडेका १३ बर्षीय साहनी वेपत्ता, उनले तिलौराकोटबारे आधा दर्जन भाषामा जानकारी दिन सक्थे



मायादेवी अनलाइन, चार नम्बर ।
बुद्धस्थलमा घुम्न आउने पर्यटकलाई उनकै भाषामा बोलेर पर्यटकीयस्थलको बारेमा जानकारी दिन सक्ने सामथ्र्य राख्ने राहुल साहनी वेपत्ता भएका छन । कपिलवस्तुको तौलिहवा घर भएका साहनी गत कार्तिक १७ गते स्कूल जानेक्रममा वेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा आफ्नो छोरा हराएको भन्दै परिवारले उजुरी दिएपछि यो कुरा मंगलबार बाहिर आएको हो ।

विदेशका प्राय सबैजसो भाषा बोल्न सक्ने साहनी कुनै समय सामाजिक सञ्जालमा भाइरल बनेका थिए । १३ बर्षीय उनको यो विलक्षण प्रतिभा देखिएपछि उनको चर्चा ह्वात्तै बढेको थियो ।

शाहनी कहाँ गए केही पत्ता छैन । परिवारले चारैतिर खोजविन गरेपनि कही नभेटाएपछि प्रहरीलाई जानकारी दिएको हो । उनका बुवाले आफ्नो छोरालाई खोजविन गर्न सबैसंग आग्रह गर्नुभएको छ ।

को थिए साहनी ?
राहुलले तिलौराकोटमा आउने पर्यटकलाई गाइड गर्न थालेको अढाई बर्ष भएको थियो । बुद्धले २९ वर्ष बिताएको दरबार नजिकै घर रहेका राहुललाई तिलौराकोटको विषयमा सबै कुराको जानकारी थियो ।

उनको घरमा कपिलवस्तुको बारेमा लेखिएका किताबहरू प्रशस्त भेटिन्छन । कपिलवस्तुको सिद्धार्थ विद्या मन्दिरमा कक्षा ६ मा पढ्ने राहुल बाल टुर गाइड थिए ।

विद्यालयबाट छुट्टी भएपछि उनी तिलौराकोट गेट छिर्थे । त्यहाँ आउने स्वदेशी विदेशी जुनसुकै पर्यटकलाई पनि गाइड गर्थे ।

सानै उमेर भए पनि उनी निकै पाको र भलाद्मी थिए । तिलौराकोटको पूर्वीद्वारदेखि पश्चिमद्वारसम्मका सबै पुरातात्विक वस्तुहरूको उनलाई ज्ञान छ । तिलौराकोट उत्खननको सुरुआतदेखिको जानकारी उनलाई सबै थाहा छ । पाँचौं शताब्दीमा चिनियाँ यात्री फाहियान र सातौं शताब्दीमा ह्विन सानले तिलौराकोटको विषयमा लेखेका कुरा पनि उनले खर्रर बताउँछन । पछिल्लो समय बेलायतको दुराम विश्वविद्यालय र पुरातत्त्व विभागले गरेको उत्खनन उनले सबै हेरे । के के भेटिए भन्ने ज्ञान बटुलेका छन् ।

त्यस क्षेत्रमा अहिले फलामका किल्ला, माटोका भाँडा र इँटाका टुक्रा, फुटेका चुरालगायत सामग्री संकलन गरिएको छ । त्रिभुवन विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका संस्कृति र पुरातत्त्व विषयका विद्यार्थीसमेत उत्खननमा क्रियाशील छन् ।

तिलौराकोटमा ईपू छैटौं शताब्दीमा योजनाबद्ध सहरीकरण सुरु भएको पाइएको छ । उक्त क्षेत्रको चारैतर्फ किल्ला र पर्खालले घेरिएको, उत्तरतर्फ स्तूप, दक्षिणमा औद्योगिकस्थल, पूर्वमा विहार र पश्चिममा बसोबास रहेको बताइन्छ । साथै, दरबारभित्र बुद्धले नुहाउने कोठा, आराम गर्ने कक्ष कता थियो भन्ने जानकारीसमेत साहनीले पर्यटकलाई गराउँछन् । स्तूपको नजिकै थुप्रै पर्खाल, पोखरीको किनारका साथै विहारको जगमा चाँदीका ४९७ पञ्चमार्क मुद्रा पनि भेटिएको पनि उनलाई थाहा छ ।

साहनी गाइड गरेर पैसा कमाउँछन्। उनको बाबुआमा किसान हुन्। घरमा बलियो आर्थिक स्रोत थिएन । उनका भाइबहिनी पनि स्कुल पढ्छन्। साहनी आफ्नो विद्यालयको फी आफै तिर्थे ।

प्रकाशित मिति : १८ कार्तिक २०७७ मंगलबार ००:००  ६ : २५ बजे