एजेन्सी ।
अमेरिकामा अग्रिम मतदान गर्नेको संख्या इतिहासमै सबैभन्दा बढि देखिएको छ । झण्डै १० करोड अमेरिकीले मतदान गरिसकेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।
द न्यूयोर्क टाइम्सका अनुसार चुनावको एक दिन अघि (सोमबार) सम्म ९ करोड ७९ लाख भन्दा बढीले मतदान गरेका छन् ।
अमेरिकामा मंगलबार अर्थात नोभेम्बर ३ मा राष्ट्रपतिसहित सिनेट, हाउस अफ रिप्रिजेनटेटिभ, राज्यका सांसन तथा गभर्नरसहितका लागि मतदान हुँदैछ ।
अहिलेसम्म ९ करोड ७९ लाख भन्दा बढि अमेरिकीले अग्रिम मतदान केन्द्रमा गएर वा हुलाक मार्फत मतदान गरिसकेका छन् । यो चार वर्ष पहिलेको चुनावमा खसेको खुल मतको ७१ प्रतिशत भन्दा बढि हो ।
अग्रिम मतदान गर्नेमा ६ करोड २४ लाख भन्दा बढिले हुलाक मार्फत मत दिएका हुन् । यस्तै अग्रिम मतदान केन्द्रमा गएर भोट हाल्नेको संख्या तीन करोड ५४ लाख भन्दा धेरै छ ।
अग्रिम मतदान गर्नेहरुको अधिक संख्यालाई हेर्दा मतदातामा चुनावलाई लिएर कोरोना भाइरसको महामारीका बाबजुद उत्साह रहेको देखिएको विश्लेषकले बताएका छन् ।
मंगलबार हुने चुनावमा राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प तथा डेमोक्र्याटिक पार्टीका तर्फबाट जो बाइडेन प्रतिस्पर्धामा छन् ।
सर्वेक्षणहरुमा देशव्यापी रुपमा पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेन ट्रम्प भन्दा लगातार अघि रहँदै आएका छन् । तर राष्ट्रपति बन्नका लागि महत्वपूर्ण केही राज्यमा अति तीव्र प्रतिस्पर्धा रहेको देखिएको छ ।
प्रतिक्रिया