९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आईपीएलः दिल्लीसंग बैंगलोर पराजित, तर दुवै प्ले अफमा



एजेन्सी ।
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।

आबुधाबीमा सोमबार राति लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा पुगेको हो । शेख जायद स्टेडियममा बैंगलोरले दिएको १ सय ५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

दिल्लीको जितमा अजिन्का रहाणे र शिखर धवनले अर्धशतकीय इनिङ्स खेले । रहाणे ६० रन बनाएर आउट हुँदा धवनले ५४ रन बनाए । यस्तै कप्तान श्रेयस एयरले ७ रन जोड्दा पृथ्वी श ९ रनमा आउट भए ।

बैंगलोरका शाहबाज अहमेदले २ विकेट लिए । वासिङ्गटन सुन्दर र मोहमद सिराजले १र१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।

बैंगलोरका लागि देबदुत पडीकलले ५० रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४१ बलमा ४ चौका प्रहार गरे । एबी डी भिलियर्स ३५ रन जोड्दा कप्तान विराट कोहलीले २९ रन बनाए । यस्तै शिबम दुबेले १७ रन जोड्दा जोस फिलिपेले १२ रन जोडे ।

दिल्लीका एनरिच नोर्टजेले ३ विकेट लिए । कागिसो राबडाले २ तथा रविचन्द्र आश्विनले १ विकेट लिए । जितसँगै दिल्लीले १४ खेलमा १६ अंक जोडेको छ । र, दिल्ली दोस्रो स्थानमा रहदै क्वालिफायरमा पुगेको हो । दिल्लीसँग पराजित बैंगलोर पनि प्ले अफमा पुगेको छ । बैंगलोरले १४ खेलमा १४ अंक जोडेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७ सोमबार ००:००  ११ : १९ बजे