मायादेवी अनलाइन चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा दिनदहाडैं २ चोर प्रहरीको फन्दामा परेका छन् । जिल्लाको कृष्णनगर र तौलिहवा घर भएका ती चोरहरु बाणगंगामा आएर चोरी गर्ने क्रममा समातिएका हुन् ।
बाणगंगा नगरपालिका वडा नम्बर ८ को अति व्यस्त चोक लौगाइ र जितपुर चारनम्बरमा दिउँसै चोरी गर्ने क्रममा इलाका प्रहरी कार्यालय पिपराको टोलीले समात्न सफल भएको प्रहरी निरिक्षक (इन्स्पेक्टर) दिनेश गुरुङले जानकारी दिनु भयो ।
गुरुङका अनुसार दिउँसो मध्यान्ह १२ बजेको समयमा एक चोरले मदिरा पसलबाट ५० हजार चोरी गरी भागिरहेको थियो । त्यसपछि स्थानीय र प्रहरीले घेरा हालेर समात्न सफल भएका हुन् ।
ती चोरहरुको साथबाट चावी तोड्न प्रयोग हुने रेन्ची, फोडी सकेको ताल्चा र अरु सामग्री पनि बरामद गरिएको गुरुङले बताउनु भयो । समातिनेमा १७ बर्षीय एक जना र अर्का २० बर्षीय मोहम्मद याकुव रहेका छन् । याकुव कृष्णनगरका हुन् भने अर्का तौलिहवाका हुन् ।
याकुव भने कार्तिक ११ गते नै समातिएका थिए । उनीहरुविरुद्ध चोरी मुद्धा दर्ता भएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यिनीहरुलाई समातेपछि अब बाणगंगामा चोरीमा संलग्न गिरोह नै समात्न सहयोग पुग्ने इन्स्पेक्टर गुरुङले बताउनु भयो ।
इन्स्पेक्टर गुरुङको आगमनसंगै यस बर्षको दशैँमा बाणगंगामा चोरीका घटनामा कमि आएको छ । चोरी दर बढेको जस्तो देखिए पनि गत बर्षको तथ्याङ्क तुलना गर्दा यस बर्ष तुलनात्मक रुपमा चोरीका घटना कम भएको प्रहरी श्रोत बताउँछ ।
प्रतिक्रिया