काठमाडौं ।
भैरहवा भन्सारबाट निकासी तथा पैठारी हुने मालवस्तुको परीक्षण गरी भन्सार जाँचपासको सम्पूर्ण प्रक्रिया पुरा गर्न औसतमा १९ घण्टा ४६ मिनेट लाग्ने गरेको पाइएको छ । भन्सार विभागले गरेको अध्ययनअनुसार भैरहवा भन्सार परिसरमा ढुवानीको साधन प्रवेशदेखि सम्पूर्ण जाँचपास भएपछि यार्डबाट बाहिर जाँदासम्मको कूल समय पौने २० घण्टा लाग्ने गरेको पाइएको हो ।
अध्ययन प्रतिवेदनअनुसार भन्सारका कर्मचारीलाई मालवस्तुको भौतिक परीक्षण गर्न ४७ मिनेट लाग्ने गरेको छ। त्यसैगरी कागजात जाँचमा औसतमा ७ मिनेट लाग्ने गरेको छ । यस्तै अन्य निकायबाट मालवस्तुको नमूना जाँच गरी प्रमाणपत्र प्राप्त गर्न ३ घण्टा ४७ मिनेट लाग्ने गरेको पाइएको छ ।
भन्सारले जाँच गरेपछि महसुल भुक्तानी गर्न ३९ मिनेट लाग्ने गरेको छ । यो समय कूल अवधिको ३.३ प्रतिशत हो । बैंकमा भुक्तानीपछि भन्सारका कर्मचारीले अन्तिम हस्ताक्षर गरी जाँचपास गरेको समयावधि २१ मिनेट छ ।
त्यस्तै भन्सारले अन्तिम जाँचपास गरेपछि बहिर्गमनको निस्सा (एक्जिट नोट) जारी गर्न १९ मिनेट लाग्ने गरेको अध्ययनले देखाएको छ । एक्जिट नोट जारी भएदेखि भन्सारबाट सवारी साधन बाहिरिन १ घण्टा ५२ मिनेट समय लाग्ने गरेको छ।
अध्ययनअनुसार भन्सार जाँचपासका चरणमा सबैभन्दा बढी अर्थात् ५९.५ प्रतिशत समय ढुवानीको साधन भन्सार परिसरमा प्रवेश गरेदेखि भन्सारको आशिकुडा प्रणालीले जाँचपासको लेन लगाउँदासम्म लाग्ने गरेको छ ।
विश्व बैंकले डुइङ बिजनेस अध्ययनअन्तर्गत सीमापार व्यापार अध्ययनको मापन यसैलाई आधार मानेर गर्ने गरेको छ । भन्सार विभागका निर्देशक मुक्तिराम आचार्यसहितको टोलीले यो अध्ययन गरेको थियो ।
प्रतिक्रिया