काठमाण्डौँ ।
पार्टीमा दुई अध्यक्षले देखाएको गतिविधिले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ भावुक बनेका छन् । पार्टी फुटको संघारमा लागेपछि आम कार्यकर्तामा पनि निरासा छाएको भन्दै उनी भावुक बनेका हुन् ।
यसैबीच उनले पार्टी एकताको रक्षाका निम्ति सक्रिय पहल गर्न अपिल गरेका छन्। सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै प्रवक्ता श्रेष्ठले पार्टीको बैठक बसेर सबै विषयमा छलफल गर्न समेत माग गरेका छन्।
’हाम्रो पार्टी एकता महान क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर र धेरै ठूलो मिहेनत, पसिना लगाएर हासिल गरिएको हो। यसको बिफलता र पार्टी फुट कदापी उचित र सही हुन सक्दैन,’ श्रेष्ठले भनेका छन्, ’फुट र फुटजन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिस्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्छुकको चाहना र जनादेशविरूद्ध हुन्छ। तसर्थ पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔं र आ(आफ्नो ठाउँबाट एकताको रक्षा निम्ति सक्रिय पहल गरौं। पार्टीको बैठक बसौं र सबै पक्षका बारेमा खुला छलफल गरौं।’
उनले पार्टीभित्र देखिएको छलफल, बहस र मतभेद अन्ततः विचार, सिद्धान्त, राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवं सञ्चालन सम्बन्धी अवधारणासँग सम्बन्धित रहेको बताएका छन्। यद्यपी अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखा परिनसकेको उनको भनाइ छ।
पार्टी एकताको रक्षा निम्ति सबैबाट एउटै कुरामा इमानदार प्रतिवद्धता भए पुग्ने भन्दै उनले पार्टीको विधि, पद्धति एवं निर्णयको पालना र कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
प्रतिक्रिया