९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अहंकार, आवेग र आक्रोशले कसैको हित गर्दैनः प्रवक्ता श्रेष्ठ



काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अहंकार, आवेग र आक्रोशले कसैको पनि हित नगर्ने भन्दै ठूलो मेहनत र पसिना बगाएर बनेको नेकपा कदापि फुटन नहुने बताएका छन् । उनले फुट र फुटजन्य क्रियाकलाप राष्ट्र र कम्युनिस्ट आन्दोलनको आवश्यकता नभएको भन्दै त्यसले आम कार्यकताको चाहाना र जनादेशविरुद्ध समेत हुने बताएका छन् ।

‘हाम्रो पार्टी एकता महान क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर र धेरै ठूलो मेहनत पसिना लगाएर हाँसिल गरिएको हो । यसको विफलता र पार्टी फुट कदापि उचित र सही हुन सक्दैन । फुट र फुटजन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिस्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्छुकहरुको चाहाना र जनादेश विरुद्ध हुन्छ,’ आइतबार साँझ आफ्नो फेसबुक पेजमा श्रेष्ठले लेखेका छन्, ‘तसर्थ पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔं र आ–आफ्नो ठाँउबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गरौं ।’

उनले पार्टीको बैठक बसौं र सबै पक्षहरुका बारेमा खुला छलफल गरौं भन्दै पार्टीभित्र देखिएको छलफल, बहस र मतभेद अन्ततः विचार, सिद्धान्त, राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवं सञ्चालन सम्बन्धी अवधारणासँग सम्बन्धित रहेपनि अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखापरिनसकेको बताएका छन् ।

‘तसर्थ यतिबेला पार्टी एकताको रक्षाको निम्ति सबैबाट एउटै कुरामा इमान्दार प्रतिबद्धता भए पुग्छ, पार्टीको विधि ,पध्दति एवं निर्णयको पालना र कार्यान्वयन’, श्रेष्ठको भनाइ छ ।

उनले ‘व्यक्तिवाद,अहंकार,आवेग र आक्रोशले समाधान दिँदैन र कसैको हित गर्दैन । देश,जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सोचौं र सकारात्मक निष्कर्ष निकालौं’, भनेका छन् ।

श्रेष्ठले जान वा अन्जानमा देशी र विदेशी प्रतिकृयावादी शक्तिहरुको चाहाना पूरा गर्ने कार्य कसैबाट हुन नहुने पनि बताएका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७७ आइतबार ००:००  १० : ३४ बजे