मायादेवी अनलाइन, तौलिहवा ।
मेयरसहित जनप्रतिनिधि र कर्मचारीहरु धमाधम कोरोना संक्रमित भएपछि कपिलवस्तु नगरपालिका एक साताका लागि बन्द गरिएको छ। बिगत १२ दिनदेखि सेवा बन्द गरिएको नगरपालिका थप एक साताका लागि सेवा बन्द गरिएको हो ।
मेयर किरण सिंहको दुई साताभित्र गरिएको २ पटक पिसीआर परीक्षणमा दुबै पटक रिपोर्ट पोजेटिभ आएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। यस्तै लेखा अधिकृतको २ सातामा ३ पटक गरिएको परीक्षणमा ३ पटक नै रिपोर्ट पोजेटिभ आएको छ। यस्तै दमकल शाखामा कार्यरत ३ र एक जना नगर प्रहरी समेत कोरोना संक्रमित भएका छन् ।
कोरोनाको फैलावट र जोखिमलाई रोक्न आगामी कार्तिक २१ गतेसम्मका लागि अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद ज्ञवालीले बताए । ‘कोरोना फैलन नदिन हामीले अति आवश्यकीय बाहेक सबै सेवाहरु बन्द गरेका छौ’ उनले भने ।
उता कोरोना संक्रमित भएपनि निस्फिक्रीरुपमा हिँड्डुल गर्ने गरिएको स्थानीयहरु त्रसित बनेका छन्। उनीहरुले संक्रमितहरु सुरक्षितरुपमा घर मै बस्नु पर्ने माग गरेका छन् । यस्तै जिल्लामा कोरोनाको परीक्षण समेत बन्द प्रायः अवस्थामा रहेको छ । मास्क लगाउन र अन्य सुरक्षाका मापदण्ड समेत अपनाउन छाडिएकाले फेरि कपिलवस्तुमा कोरोना फैलन जोखिम बढेको स्वास्थयकर्मी बताउँछन् ।
प्रतिक्रिया