काठमाडौं ।
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आइतबारको पहिलो खेलमा किङ्स–११ पञ्जाबले चेन्नई सुपर किङ्सलाई १५४ रनको लक्ष्य दिएको छ ।
चेन्नईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा १५३ रन बनाएको हो। पञ्जाबका लागि दीपक हुडाले सर्वाधिक ६२ रन बनाए ।
यस्तै पञ्जाबका कप्तान केएल राहुलले २९, मयंक अग्रवालले २६, मन्दीप सिंहले १४ र क्रिस गेलले १२ रन बनाए ।
बलिङतर्फ चेन्नईका लुङ्गी नगिदीले तीन विकेट लिए भने रविन्द्र जडेजा, इमरान ताहिर र शार्दुल ठाकुरले एक–एक विकेट लिए ।
जारी आईपीएलमा १३ खेलबाट १२ अंक जोडेको पञ्जाब अंकतालिकाको पाँचौ स्थानमा छ। आजको खेलमा चेन्नईविरुद्ध जित निकाल्न सके पञ्जाबको प्लेअफ पुग्ने सम्भावना रहने छ, तर त्यसका लागि अरुको खेलमा समेत भर पर्नु पर्नेछ। चेन्नईसँग पराजित भएमा भने पञ्जाबको प्लेअफ पुग्ने सम्भावना सकिने छ ।
चेन्नईको भने प्लेअफ पुग्ने सम्भावना पहिले नै समाप्त भइसकेको छ। १३ खेलबाट चेन्नईको आठ अंक मात्रै छ। आईपीएलको इतिहासमा चेन्नई प्लेअफ नपुगेरै बाहिरएको यो पहिलो पटक हो।
प्रतिक्रिया