चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
कपिलवस्तुको चार नम्बर तौलिहवा सडकखण्डमा पुनः विस्तारको काम सुरु भएको छ । यस अगाडी नै एसएस रोडको रुपमा विस्तारको काम सुरु गर्ने भनिए पनि कोरोना र चाडबाडका कारण टु लेन सडक विस्तारको काम सुरु हुन सकेको थिएन ।
तर अब भने काम सुरु गर्ने भन्दै चार नम्बरदेखि सडक नाप्ने काम भएको छ । आइतबार चार नम्बरदेखि दक्षिणतिर इन्जिनियरहरुले नाप लिएका छन् । सडकको बीच भागबाट पूर्व र पश्चिममा पर्ने १५ । १५ मिटरसम्म नाप गरी संकेत पनि राखिएको छ । तौलिहवाबाट सडक विस्तार हुँदै आएको र उत्तर चार नम्बरबाट पनि काम सुरु गर्ने भन्दै ओदारीसम्म नै नाप लिने काम अहिले भइरहेको सडकको ठेक्का लिएको अर्घाखाँची निर्माण सेवाले जनाएको छ ।
नापको क्रममा चार नम्बरबाट तलको भागमा एकदुई घरका भित्ता परेका छन् भने अधिकांस घरका पेटी परेका छन् । नापमा खटिएका इन्जिनियरका अनुसार अब तिहारपछि सडक विस्तारको काम सुरु हुने छ । अहिले नाप गरेर सम्बन्धित घर धनी र पसल धनीलाई सडकमा पर्ने संरचना र घर परेको भए भत्काउन सूचना दिइएको र तिहारसम्म नहटाइए डोजर चलाएर भत्काउने नापमा खटिएका इन्जिनियरले मायादेवीसंग बताए । विस्तारको लागि खानेपानीसंग आजै भोली छलफल हुने र त्यसपछि धमाधम काम हुने ती इन्जिनियरले बताए ।
उनीहरुले भनेका छन्, ‘अरु धेरै कुरा हामीलाई थाहा छैन, माथिबाट हामीलाई नाप लिएर आवश्यक निर्देशन दिन भनिएको छ । हामीले नाप लिँदै, संकेत छोड्दै आएका छौँ । सो संकेतसम्म कुनै पसल, घर र अरु संरचना परेका छन् भने जसरी पनि तिहारसम्म हट्छन् । तिहारसम्म सडकमा परेका संरचना नहटाइए कम्पनीले डोजर चलाउँछ ।’
पछिल्लोसमय १५ मिटर मात्र नभएर २५ मिटरसम्म सडक विस्तार हुने हल्ला चलेको थियो । तर नापमा खटिएका इन्जिनियरले २५ मिटर नभएर १५ मिटरसम्म मात्र अहिले सडक विस्तार हुने जनाए । सर्वसाधारणसंगको जिज्ञासामा उनले भने ‘२५ मिटर भन्ने कुरा घना र शहरी क्षेत्रमा हो । यसबारे हामीलाई पनि त्यति थाहा छैन । २५ मिटरको कुरा माथि नै बुझ्नु पर्दछ ।
लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले अहिलेसम्म बनिसक्नु पर्ने एसएस रोड कोरोना र चाडबाडका कारण रोकिएको बताउँदै अब द्रुत ढंगमा काम हुने मायादेवीसंग बताए । दाया बायाँ २५ मिटरसम्म विस्तारको हल्ला बारे राखिएको जिज्ञासामा पनि उनले अहिलेहिले बीच सडकबाट १५ मिटरसम्म विस्तार हुने बताउँदै २५ मिटरको कुरा छलफलमै रहेको बताए ।
मुख्य राजमार्गमा संरचना बनाउँदा कम्तिमा पनि १५ मिटर जग्गा छोडेर बनाउनु पर्ने सडक मापदण्ड छ । यस सडकको यस अगाडी पनि विस्तारको काम भएको थियो । सडक विस्तार पछि दुई लेनमा सवारी गुड्ने छन् भने पैदल यात्रीको लागि पनि छुट्टै हिँड्नको लागि व्यवस्था हुने छ । सडक निर्माणपछि यस क्षेत्रमा हुने दुर्घटनामा पनि कमि आउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया