९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मोबाइलबाटै कर्जा दिँदै कुमारी बैंक, कागजात विना नै घरमै बसेर ऋण पाइने



काठमाडौं ।

कुमारी बैंकका सेवाग्राहीले अब मोबाइलकै भरमा ऋण पाउने भएका छन् । कुमारी बैंकले सार्वजनिक गरेको फोन लोन नामक योजनामा कुमारी बैंकमा तलब एकाउन्ट भएका सेवाग्राहीले फोनबाटै ऋण पाउने भएका हुन् ।

यसरी फोन लोन लिँदा सेवाग्राहीले कुमारी बैंकमा तलब खाता खोलेको हुनुपर्ने छ । तलब खाता भएका सेवाग्राहीले गरेको बैंकिङ कारोबारका आधारमा बैंकले ऋण उपलब्ध गराउने छ ।

बैंकका अनुसार ऋणीले आफूले पाउने ऋणको बारेमा कुमारी स्मार्ट मोबाइल एपमा गएर विस्तृत जानकारी लिन सक्नुका साथै ऋणका लागि निवेदनसमेत दिन सक्नेछन् ।

यसरी ऋण लिँदा ऋणको अवधि एक महिनाको मात्रै हुनेछ भने अधिकतम ऋण एक लाख रुपैयाँसम्म पाइने छ । जसका लागि कुनै पनि प्रकारका धितो राख्नुपर्ने छैन भने कानुनी कागजात पनि आवश्यक पर्ने छैन । एक पटक ऋण लिएर समयमै ऋण चुक्ता गरेको खण्डमा ग्राहकले पुन दोहोर्‍याएर ऋण लिन सक्ने बैंकका मार्केटिङ म्यानेजर राघव पोख्रेलले वताए । यसरी ऋण लिँदा ऋणीले १२ प्रतिशत ब्याज तिर्नुपर्ने हुन्छ भने माग गरिएको ऋणको १।२५ प्रतिशत रकम बैंकले प्रोसेसिङ शुल्कको रूपमा काट्ने छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७ आइतबार ००:००  ३ : २९ बजे