एजेन्सी ।
यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्स चेन्नई सुपर किंग्ससँग पराजित भएको छ । दुबईमा बिहीबार राति भएको खेलमा चेन्नईले कोलकातालाई ६ विकेटले पराजित गरेको हो ।
कोलकाताले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५३ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।
रविन्द्र जडेजा ३१ रनमा अविजित रहदा साम करण १३ रनमा अविजित रहे । अन्तिम ओभरमा जडेजाले दुई छक्का प्रहार गर्दै चेन्नईलाई जिताएका हुन् ।
अन्तिम ओभरमा चेन्नईलाई जितका लागि १० रन आवश्यक थियो । बलिङमा थिए कमलेश नगरकोटी । पहिलो बलमा करणले रन जोड्न सकेनन् । तर, करणले दोस्रो बलमा २ र तेस्रो बलमा १ रन जोडे । चौंथो बलमा जडेजाले रन जोड्न सकेनन् । तर, जडेजाले पाँचौ र छैटौं बलमा छक्का प्रहार गर्दै चेन्नईलाई अन्तिम बलमा जित दिलाए ।
कोलकाताका वरुण चक्रवर्ती र पाट कुमिन्सले २र२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।
कोलकाताका लागि नितिश रानाले ८७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ६१ बलमा १० चौका र ४ छक्का प्रहार गरे ।
चेन्नईका लागि लुंगी एनजिडीले २ विकेट लिए । मिचेल स्टानर, कर्ण शर्मा र रविन्द्र जडेजाको नाममा १/१ विकेट रह्यो ।
जितसँगै चेन्नईले १३ खेलमा १० अंक जोडेको छ । चेन्नई तालिकाको पुछारमा रहेको छ ।
कोलकाताले १३ खेलमा १२ अंक जोडेको छ । कोलकाता पाँचौं स्थानमा रहेको छ । हारसँगै कोलकाताको प्लेअफ यात्रा अनिश्चित भएको छ । कोलकाताले लिगको बाँकी एक खेल जिते पनि अरू टोलीको अंक तथा रनरेटका आधारमा मात्रै उसको प्ले अफ यात्राको निधो हुनेछ ।
प्रतिक्रिया