७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

विज्ञ भन्छन–जाडोमा झनै बढ्न सक्छ कोरोना संक्रमण



काठमाडौँ ।
कोरोना संक्रमणको विस्तार जाडोयाममा अझै बढ्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । उनीहरूका अनुसार जाडोका बेला घरका झ्यालढोका बन्द गरिँदा हावा ओहोरदोहोर नहुने र एकै ठाउँमा धेरै जना बस्दा संक्रमण फैलिने सम्भावना बढी रहन्छ । कोरोना भाइरस चिसोयाममा सतहमा धेरै बेरसम्म जीवित रहने चिकित्सकहरू बताउँछन् ।

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा.वासुदेव पाण्डेले जाडोयाममा कोभिडसँगै मौसमी रुघाखोकीसमेत देखिने हुनाले आमव्यक्तिमा कोरोना संक्रमणको त्रास पनि बढ्न सक्ने बताए । ‘जाडोयाममा दमको समस्यासमेत बढ्छ,’ उनले भने, ‘सकेसम्म इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) विरुद्को खोप लगाउनु फाइदाजनक हुन सक्छ ।’

उनका अनुसार कोभिड र मौसमी रुघाखोकी दुवै संक्रमणसँग लड्नुपर्ने स्थितिमा शरीर झन् कमजोर हुने भएकाले त्यस्तो खोपले जटिल परिस्थितिबाट जोगाउन सक्छ । ‘पुस–माघसम्म संक्रमणको विस्तार जारी नै रहने देखिन्छ । त्यो बेलासम्म कोभिडविरुद्घको खोप बजारमा आउन सक्छ । त्यसैले जोखिममा रहेकाहरूले केही समय अझ जोगिएर बस्नुपर्छ,’ डा. पाण्डेले भने ।

कुल सक्रिय संक्रमितमध्ये ५० प्रतिशत हाराहारी काठमाडौं उपत्यकामै भएकाले राजधानीवासी सबैले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने विज्ञहरूले सुझाएका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७७ शुक्रबार ००:००  ६ : ०२ बजे