७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

बाँकेमा उपचाररत् २३ सङ्क्रमितको अवस्था गम्भीर



बाँके ।

बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत् २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको छ। भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ गरी २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार, गम्भीर बिरामीमध्ये, एकजनाको भेन्टिलेटरमा र २२ जनाको आइसियुमा राखेर उपचार भइरहेको छ। भेरी अस्पतालको आइसोलेसनमा ५२ जना र शिक्षण अस्पताल कोहलपुरको आइसोलेसनमा ३४ गरी ८६ जना कोरोना बिरामीको उपचार भइरहेको छ।

उपचाररत् ८६ बिरामीमध्ये, २३ जना गम्भीर, ४१ जना मध्यम र २२ जना सामान्य बिरामी रहेको श्रेष्ठले बताए। बाँकेमा १७७ जना सङ्क्रमित होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन्।

बाँकेमा हालसम्म तीन हजार ४० जनामा कोरोना सङ्क्रमण देखिएकोमा ३० जनाको मृत्यु भईसकेको छ भने दुई हजार ७१२ जना उपचारपश्चात निको भएका छन्। जिल्लामा हाल २९८ जना सक्रिय सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : १३ कार्तिक २०७७ बिहिबार ००:००  २ : २० बजे