एजेन्सी ।
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इस्तानबुल बसकसेइरलाई पराजित गरेको छ । मोइस किनले दुई गोल गरेपछि फ्रान्सेली टोली २-० को जित दर्ता गर्न सफल रहयो ।
प्रिमियर लिगको क्लब एभर्टनबाट लोनमा पेरिस पुगेका इटालियन फरवार्ड किनले दुवै गोल दोस्रो हाफमा गरेका थिए । उनलाई दुवै गोलमा युवा फरवार्ड किलियन एम्बाप्पेले असिस्ट दिएका थिए ।
किनले खेलको ६४ औं मिनेटमा एमबाप्पे क्रसमा हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । ७९ औं मिनेटमा एमबाप्पेको पास पेनाल्टी क्षेत्रभित्र प्राप्त गरेपछि किनले उत्कृष्ट टर्न गर्दै गोल गरेका थिए ।
खेलको पहिलो हाफमा नै सुपरस्टार फरवार्ड नेयमार चोटका कारण बाहिरिएका थिए । उनको मांशपेशीमा समस्या आएपछि २६ औं मिनेटमा नै पाब्लो सरबिया उनको स्थानमा मैदान छिरेका थिए । उनको चोटको अब बिहिबार विस्तृत परिक्षणपछि मात्र कति समय बाहिर रहने भन्ने यकिन हुनेछ ।
पीएसजी पहिलो खेलमा म्यानचेस्टर युनाइटेडसँग घरेलु मैदानमा पराजित भएको थियो । उक्त खेलमा हार बेहोरेपनि पीएसजीले जित हासिल गर्दै उपाधि जित्ने लक्ष्यलाई केहि सघाउ गरेको छ ।
प्रतिक्रिया