१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

हैदराबादविरुद्धको दोश्रो खेलमा पनि दिल्लीको हार, शीर्षस्थानको मौका गुमायो



एजेन्सी ।
सनराईजर्स हैदराबादले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।दुबईमा मंगलबार राति भएको खेलमा हैदराबादले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द टिम दिल्लीलाई ८८ रनले पराजित गरेको हो ।
हैदराबादले दिएको २ सय २० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले १९ ओभरमा अलआउट हुँदै १ सय ३१ रन मात्र बनाउन सक्यो।
दिल्लीका लागि ऋषब पन्तले सर्वाधिक ३६ रन जोड्दा अजिन्का रहानेले २६ रन बनाए । टुसार देशपाण्डेले अविजित २० रन जोड्दा शिम्रन हिटमायरले १६ रन बनाए ।दिल्लीलाई सस्तैमा समेट्न हैदराबादका राशिद खानले ४ ओभरमा ७ रन खर्चिएर ३ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा २ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो ।दिल्लीको फराकिलो लक्ष्यमा रिद्दिमान शाह र कप्तान डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले ।ओपनरद्वय रिद्दिमान र वार्नरले पहिलो विकेटका लागि १ सय ७ रनको साझेदारी गरेका थिए ।यस्तै मनिस पाण्डेले अविजित रहदै ४४ रन जोड्दा केन विलियम्सनले अविजित ११ रन बनाए ।
जितसँगै हैदराबादले १२ खेलमा १० अंक जोडेको छ । र, हैदराबाद छैटौं स्थानमा उक्लिएको छ । हैदराबादसंग यो दिल्लीको लगातार दोस्रो हार हो । हैदराबादसँग पराजित भएपछि दिल्ली भने लिगको शीर्ष स्थानमा उक्लन असफल भएको छ । दिल्लीले १२ खेलमा ७ जितसहित १४ अंक जोडेको छ । दिल्ली तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७ बुधबार ००:००  ६ : ०४ बजे