१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

स्थानीय सरकार पुग्नु पर्ने वेसहारा महिलाको झुपडीमा ‘लायन्स क्लव कपिलवस्तु’ पुग्यो



चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ वैजलपुरमा सुकुम्बासीवस्तीमा एक सुकुम्बासी बस्ती छ । अनि त्यहाँ एउटा मेहेनेती पनि टोल छ । सुकुम्बासी वस्ती भए पनि त्यहाँ पौरखी महिला दिदीवहिनीहरु धेरै भएकाले त्यो टोलको नाम नै मेहेनेती टोल राखिएको हो । त्यही टोलमा वि सं २०५७ सालदेखि एक बेसहारा महिला हरिकला शर्मा बस्नु हुन्छ ।

उमेरले उहाँ अहिले ५९ बर्ष पुग्नु भएको छ । उहाँको विहे भए पनि एक जना पनि सन्तान हुन सकेनन् । पहाड घर बाग्लुङबाट बसाइ सरी त्यहाँ आउनु भएकी शर्मा वि सं २०६६ सालसम्म त श्रीमानसंग वस्नु भयो तर ६७ सालमा श्रीमानको देहान्त भएपछि उहाँ एक्लै बस्दै आउनु भएको छ । सन्तान सुख नपाउनु भएकी शर्मा पतिको देहान्त भए पछि झन् दुखी हुनुहुन्छ । उहाँलाई सहारा दिने अहिले कोही पनि छैन । सम्पतिको नाममा त्यहीँ लालपुर्जाविहिन जग्गा छ । सानो जीर्ण झुपडी छ । उहाँ त्यही झुपडीमा बस्नु हुन्छ । केही बाख्रा पालेर, दुना टपरी गाँसेर अहिले उहाँले विहानसाँझको छाक टार्नुभएको छ । शर्माको यस्तो नाजुक अवस्थाबारे धेरैलाई थाहा पनि छैन । नगरको पनि अहिलेसम्म त्यहाँ ध्यान गएको छैन । शर्मालाई नगरले अहिलेसम्म गरेको भनेको लकडाउनमा दिएको अलिकति राहत हो ।

विगत १० बर्षदेखि बेसहारा बनेकी हरिकला शर्माको यो नाजुक स्थितिबारे थाहा पाएपछि लायन्स क्लव अफ कपिलवस्तु भने त्यहाँ पुगेको छ । र आफ्नो स्थापना दिवस मनाएको छ । बिभिन्न संघ संस्थाले बिभिन्न दिवस मनाउँदा फजुल खर्च गर्ने परम्परालाई तोडदै क्लवले तिनै महिलालाई नगद ७ हजार ५ सय रुपैयाँ सहयोग हस्तान्तरण गरी दिवस मनाएको हो ।

क्लवका अध्यक्ष सुरेन्द्र घिमिरेले शर्मा वास्तविक दुखी र बेसहारा भएको खबर मायादेवी मिडियाबाट थाहा पाए पछि संस्थागत निर्णय गरी त्यहाँ पुगेर थोरै भए पनि सहयोग गरेको मायादेवीसंग बताउनु भयो ।

सहयोग रकम लिएर अध्यक्ष घिमिरेसंगै क्लवका जोन चेयर पर्सन तथा संस्थापक अध्यक्ष कृष्ण केसी, प्रथम उपाध्यक्ष धातानन्द भुषाल, सचिव राम सुभागे थारु, टिजर सागर घिमिरे, लायनकर्मीहरु ओम प्रकाश घिमिरे, नवदत्त घिमिरे, शान्तराज गैरे, दामोदर पन्थी, विष्णु प्रसाद घिमिरे, शाश्वत केसी र जितेन्द्र श्रेष्ठ पुग्नु भएको थियो ।

सहयोग रकम ग्रहण गर्दै हरिकला शर्माले क्लवलाई धेरैधेरै धन्यबाद दिनुभयो । सहयोग रकम थोरैधेरै जति भए पनि वास्तविक समस्या पहिचान गरेर आफ्नो घरमा आएकोमा उहाँले धन्यबाद दिँदै बेसहारा आफ्नो जीवनमा लायन्स क्लव पनि सहाराको पात्र बनेको मायादेवीसंग बताउनु भयो । यो पैसा नुनतेलमा खर्च गर्ने भन्दै आफ्नो भत्केको झुपडी कसैले बनाउन सहयोग गरे बाँकी जीवनमा सहयोग मिल्ने उहाँको भनाई छ । यो सुनेपछि संस्थापक अध्यक्ष केसीले यसमा पनि आफूहरुको ध्यान जाने वचन दिनुभयो । क्लवले सदस्यको जन्म दिन पर्दा या कुनै विशेष कार्यक्रम गर्दा थुप्रै यस्ता मानवीय र सामाजिक कार्य गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७ मंगलबार ००:००  ७ : १२ बजे