मायादेवी अनलाइन, वाणगंगा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यशोधरा गाउँपालिकाका सचिव राघवेन्द्र मिश्राको निधन भएको छ । लामो समयदेखि मधेसी समुदायबाट कम्युनिष्ट आन्दोलनमा सक्रिय मिश्राको शुक्रबार दिउँसो हृदयघातको कारण निधन भएको हो ।
मिश्राको निधन प्रति नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलद्धारा दुख व्यक्त गर्नुभएको छ । तत्कालिन नेकपा (एमाले)बाट कम्युनिष्ट राजनीतिमा सक्रिय मिश्राको निधनले सिंगो पार्टीलाई अपुरणीय क्षति पुगेको अध्यक्ष पोख्रेलले बताउनुभएको छ ।
कपिलवस्तुका होनाहार कमरेडलाई गुमाउनु पर्दा पार्टी स्तब्ध भएको प्रतिक्रिया दिदैँ उहाँले परिवाजनप्रति गहिरो समवेदना पनि व्यक्त गर्नुभएको छ ।
यसैबीच नेता मिश्राको शनिबार रामघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । दाहासंस्कारमा नेकपाका जिल्ला झविलाल अध्यक्ष पोख्रेल र सचिव रामचन्द्र शाहले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । साथै जिल्ला अध्यक्ष पोख्रेलले मिश्राले पार्टी जीवनमा गरेका महत्वपूर्ण कामको स्मरण गर्दै अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
दाहसंस्कारमा नेकपाकी लुम्बिनी प्रदेश कमिटी सदस्य तथा संविधान सभा सदस्य शान्तिदेवी चमार, पार्टी प्रचार विभाग प्रमुख लक्षण बेल्वासे, जिल्ला कमिटी सदस्य युवराज पोख्रेल, नारायण भुसाल, सीताराम हरिजन, जिल्ला सल्लाहकार परिषद सदस्य राममिलन चौधरी, जिल्ला किमटी सदस्य तथा यशोधरा गाउँपालिका हजरत अलि मुसलमान लगायतको उपस्थिती रहेको थियो ।
५८ बर्षको उमेरमै देहान्त हुनुभएका मिश्रा लामो समय शिक्षक पेशामा आवद्ध हुनुहुन्थ्यो । शिक्षक पेशामा रहदा उहाँले स्याङ्जा लगायतका जिल्लामा पुगेर अध्यापन गराउनुभएको थियो । शिक्षक पेशामै राजनीतिमा सक्रिय मिश्राको शुक्रबार निधनसंगै नेकपा कपिलवस्तुलाई ठूलो क्षति पुगेको छ । अन्तिम श्रद्धाञ्जली सभामा उहाँको जीवनबारे जिल्ला सचिवालय सदस्य आजात अहमद दर्जीले प्रकाश पार्नुभएको थियो ।
प्रतिक्रिया