दाङ ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जटिल खालका शल्यक्रिया गर्न शुरु गरेको छ । आइतवार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सर्वेश शर्माले २०७६/७७ मा २६ प्रतिशत जटिल खालको शल्यक्रिया गरिएको जानकारी दिए । उनका अनुसार २०७४/७५ मा जटिल खालको शल्यक्रिया ४ दशमलव ३० प्रतिशत मात्र गरिएको थियो ।
विशेषज्ञ चिकित्सक,जनशक्ति र इक्विपमेन्ट उपलब्ध भएपछि जटिल खालका शल्यक्रिया यसै अस्पतालमा शुरु गर्न थालिएको र यो शुरूको वर्षको तुलनामा पछिल्लो वर्ष तीन गुणाले वृद्धि भएको उन शर्माले जानकारी दिए । यसअघि जटिल खालका शल्यक्रियाका लागि जिल्ला बाहिरका अस्पतालमा रिफर गर्ने गरिन्थ्यो ।
सामान्य खालका शल्यक्रिया भने आर्थिक वर्ष २०७६/७७ मा कमी भएको उनले बताए । जटिल खालका शल्यक्रिया हुन थालेपछि सामान्य शल्यक्रियाको अभिलेख नराखिएको डा. शर्माले बताए ।
अस्पतालका अनुसार सामान्य खालको शल्यक्रिया आर्थिक वर्ष २०७६/७७ मा ७४ प्रतिशत भएको थियो भने आर्थिक वर्ष २०७५/७६ मा ९० दशमलव ३० प्रतिशत र आर्थिक वर्ष २०७४/७५ मा ९५ दशमलव ७० प्रतिशत रहेको छ ।
मेशु डा. शर्माका अनुसार २०७४/७५ मा २ सय २३ जना बिरामीको उपचारका लागि एक जना चिकित्सकको व्यवस्था थियो भने २०७५/७६ मा ४३८ बिरामीका लागि एक जना डाक्टर उपलब्ध गराइएको थियो । २०७६र७७ मा ३०६ जना बिरामीका लागि एक जना चिकित्सकको व्यवस्था गरिएको थियो ।
आर्थिक वर्ष २०७५/७६ मा तीन हजार ६४९ र २०७६/७७ मा चार हजार ४४ जनाको शल्यक्रिया गरिएको छ । जटिल समस्याका लागि चाहिने औजार तथा मेसिन उपलब्धता समेत रहेको अस्पतालले जनाएको छ ।
अस्पतालमा बायो केमेस्ट्री एनालाइजर चालु अवस्थामा २ थान, जेनेरेटर २ थान ६२ दमलव ५ केभीए र २० केभिएको रहेका छन् । त्यस्तै आइसियू भेन्टीलेटर तीन थानमध्ये एउटा कोरोना विशेष अस्पताल बेलझुण्डीमा रहेको छ । आइसियू मोनिटर १५ थान, आइसियू बेड १० थान, ओटी टेबल तीन थान र हाइपो ओ टु एक थान रहेको शर्माले बताए ।
प्रतिक्रिया