९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सत्तारुढ दलका सांसदले खाएनन् दसैं भत्ता, राख्ने भए कोरोना कोषमा



काठमाडौँ ।
चर्को विरोधपछि सत्तारुढ नेकपाले आफ्नो दलका संघीय सांसदहरुलाई दिइएको दसैं भत्ता फिर्ता गर्ने तयारी गरेको छ ।

नेकपाका नेता सुवास नेम्वाङका अनुसार दलले यो रकम कोरोना महामारीसँग लड्नका लागि सरकारले स्थापना गर्ने कोषमा राख्ने निर्णय गरेको छ ।

‘बिहानदेखि नै दुवै सदनका दलका अधिकारीबीच छलफलमा लागेका थियौं । व्यक्तिगत रूपमा फिर्ता गर्नेभन्दा संस्थागत रुपमा गरिएको हो । कोरोना महामारीको बेला साधारण ढंगले दसैं मनाउँछौं भनेर हामीलाई आएको दसैं भत्ता सरकारले स्थापना गरेको कोरोना कोषमा राख्ने निर्णय गरेका छौं,’ नेम्वाङले भने ।

नेकपा राष्ट्रिय सभाका सचेतक खिमलाल भट्टराईले दलका पदाधिकारीसँग छलफल पछि रकम कोरोना कोषमा राख्ने निर्णय भएको बताए ।

२०७६ को दसैंमा सरकारले सांसद र उनीहरुका स्वकीय सचिवलाई दसैं भत्ता स्वरुप एक महिनाको तलब बराबर रकम दिने निर्णय गरेको थियो । कोरोना महामारीले देश आक्रान्त भएका बेला सांसदहरुलाई भत्ता दिइएको भन्दै व्यापक विरोध भएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७७ सोमबार ००:००  ४ : ४० बजे